कैलालीमा गठबन्धन दल अगाडि, कसको कहाँ अग्रता ?
2022/05/14, 6:17
 
ss

१३ स्थानीय तह रहेको कैलालीको प्रारम्भिक नजिता अनुसार ५ दलीय गठबन्धन अगाडि देखिएको छ। स्थानीय तहको निर्वाचनमा सहभागीमध्ये गठबन्धनले हालसम्म जिल्लाका ४ पालिकाको प्रमुख पदमा अग्रता कायम गरेको छ। 

जिल्लाको गोदावरी नगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवारले मेयरमा अग्रता कायम गरेका छन्। अहिलेसम्म कांग्रेसका बिरेन्द्र भट्टले ६४५ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले ६२६ मत पाएका छन्।

घोडाघोडीमा नगरपालिकामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका खडकबहादुर रावले १८८ मत पाएका छन्।  त्यहाँ एमालेका ममताप्रसाद चौधरीले १२५ मत प्राप्त गरेका छन्।  उता गौरीगंगामा नगरपालिकामा गठबन्धनका माओवादीको तर्फबाट मेयरका उम्मेदवार बनेका देवीदत्त कँडेलले ५९ मत पाएका छन्। उनलाई एमालेका पदमसिंह सिङालल ३० मतका साथ पछ्याइरहेका छन्।    

यस्तै चुरेमा गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा ९एस०का  उम्मेदवार लोकबहादुर सारु र जानकी गाउँपालिकामा गठबन्धनका उम्मेदवार कांग्रेसका परशुराम महतौले अग्रता कायम गरेका छन्।  यता धनगढी उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन्। धनगढीमा १ सय ५३ मतगणना हुँदा हमालले ७७ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३५, नेकपा एमालेका रणबहादुर चन्दले ५ मत पाएका छन्। 

टीकापुरमा नगरपालिकामा भने नागरिक उन्मुक्ति पार्टी अगाडि आएको छ। नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका रामलाल डगौरा थारुले १३७ मत प्राप्त गरेका छन्। उनलाई एमालेका श्याम खत्रीले ६७ मतका साथ पछ्याइरहेका छन्।  

कैलारी गाउँपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम राखेको छ। गाउँपालिका अध्यक्षका उम्मेदवार राप्रपाका होमबहादुर गुरुङले २७० मत प्राप्त गरेका छन्।  यस्तै उनका प्रतिद्वन्दी कांग्रेसका रामसमज चौधरीले २४१ मत पाएका छन्। भजनी नगरपालिकामा भने एमाले अगाडि छ। जिल्लाको लम्कीचुहा नगरपालिका र जोशीपुर गाउँपालिकामा भरखरै मतगणना सुरु भएको छ। दुर्गममा रहेको मोहन्याल गाउँपालिकामा भने अहिले पनि मतपेटीका संकलन कार्य भइरहेको छ।