धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै
2022/05/14, 6:30
 
ss

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्। भर्खरै सार्वजनिक प्रारम्भिक परिणाम अनुसार तीन सय मतगणना हुँदा हमालले १४३ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९२, नेकपा एमालेका रणबहादुर चन्दले ११ मत पाएका छन्।

हमाल र वडबीच ५१ मतको अन्तर देखिएको छ। सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२  बजेदेखि सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो।

मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ। चासोको साथ हेरिएको उपमहानगरपालिको मतगणनास्थल बाहिर पनि कडा सुरुक्षा व्यवस्था गरिएको छ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।