कैलालीको ३ पालिकामा रेशम चौधरीको पार्टीको अग्रता
2022/05/15, 12:03
 
ss

नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ ।

यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पछि पारेका छन् ।टीकापुर नगरपालिकामा चार हजार ४४९ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १४९० मत ल्याएर अग्रस्थानमा छन् । नेपाली कांग्रेसका नवराज रावलले ७८१ र नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका छन् ।

उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी बिकले ११८७ मत ल्याएर अग्रता कायम राखेकी छन् भने उनलाई पछ्याइरहेकी माओवादी केन्द्रका खडक शाहले ९४५ र एमालेकी उपमा केसी ५५२ मत ल्याएकी छन् । जोशीपुर गाउँपालिकामा दुई हजार ४१९ मतको गणना सकिदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ६४९ र उपाध्यक्षमा रेखा कठरियाले ६६७ मत पाएका छन् ।

अध्यक्षमा पदमा दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवारले ६२४ र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ४८४ मत पाएका छन् । भजनी नगरपालिकामा २९२८ मत गणना हुँदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ८१२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवारले ८०२ र माओवादी केन्द्रका उम्मेदवारले ७२० मत पाएका छन् । उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६९६ मत पाएका छन् भने एमाले उम्मेदवारले ८४१ र माओवादीका उम्मेदवारले ५४७ मत पाएका छन् ।