बाजुराको बूढीगङ्गामा चार वडाको मतगणना अन्योलमा
2022/05/19, 1:16
 
ss

बाजुराको बूढीगङ्गा नगरपालिकाको चार ओटा वडामा मा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो ।

गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफु असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो ।

उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झडप भएपछि आफु असुरक्षित भएकाले निर्वाचन कार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजिनामा दिएका थिए ।

सापकोटाको राजिनामापछि निर्वाचन आयोगले वैकल्पिक ब्यवस्था नगर्दा ती वडाको निर्वाचनकार्य अन्योलमा परेको हो । आयोगले बूढीगङ्गामा निर्वाचन अधिकृत पठाउन खोज्दा कसैले आउन नमानेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए ।

ती वडामा नेकपा एमालेले विवाद सिर्जना गरेको जनाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्नुपर्ने अडान राख्दै आएको छ । एमालेले भने शान्तिपूर्ण वातावरणमै मतदान भएकाले निर्वाचन भएको सबै वडाको मतगणना सुरु हुनुपर्नै जनाउँदै आएको छ ।

यसैबीच बूढीगङ्गामा मतदान विवाद भएको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले नगरको सवै वडामा पुनः मतदान गर्न निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा अनुगमन टोली जिल्ला आएको थियो । अनुगमनमा टोलीले जिल्लामा राजनीतिक दल तथा उम्मेदवार, मतदान अधिकृत र सुरक्षाकर्मीसँग राय–सुझाव सङ्कलन गरेर फर्किएको जनाइएको छ ।