टीकापुरमा गठबन्धनलाई भारी मतान्तरले हराउँदै नागरिक उन्मुक्तिका डंगौरा विजयी
2022/05/19, 1:19
 
ss

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा जीत हासिल गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी मतान्तरका साथै मेयरमा विजयी हासिल गरेका छन् । थारुले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट मेयरका लागि उम्मेदवारी दिएका नवराज रावललाई ३ हजार बढी मतले हराउँदै विजय भएका हुन् । नवनिर्वाचित थारु टीकापुर–७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले विजय हासिल गरेका छन् । शाह नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्का देवी विश्वकर्मालाई हराउँदै विजयी गरेका हुन् । उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ ।

नवनिर्वाचित मेयर थारुले शान्ति, समृद्धि, सुशासनको ३ खम्बे नीतिका साथ काम गर्ने जनाएका छन् । नगरवासीले दिएको अमूल्य मतलाई शिरोधार्य गर्दै सबैलाई मिलाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘राजनीतिक र विकासको दृष्टिकोणले टीकापुरलाई राज्यले उपेक्षा गर्दै आएको महसूस हामीले गरेका छौं । हामीले यहाँ शान्ति तथा न्याय र विकास चाहेका छौं । त्यसैले कसैलाई प्रतिपक्ष बन्न दिने छैन । सबैलाई मिलाएर अगाडि बढ्नलाई नगरवासीले मत दिएका छन् ।’