यसरी भयो कैलाली पूर्वमा नागरिक उन्मुक्ति पार्टीको उदय...
जेल परेका श्रीमान रेशम चौधरीको राजनीतिक योजना कार्यान्वयन गर्दै श्रीमती रञ्जिता
2022/05/20, 12:05
 
ss

निर्वाचन आयोगमा गत पुस १९ गते नागरिक उन्मुक्ति पार्टी दर्ता भयो। जसको अध्यक्ष थिईन् रञ्जिता श्रेष्ठ। उनी निलम्वित साँसद रेशम चौधरीकी श्रीमती हुन्।    प्रायः काठमाडाैं बस्दै आएकी श्रेष्ठ दल दर्ता गरेसँगै टीकापुर आउजाउ गर्न थालिन्। उनले एकपछि अर्को गर्दै थारु अगुवालाई भेट्न थालिन्। उनले गाउँघरमा भेटघाट बढाईन। श्रेष्ठको सकृयतासँगै धेरै व्यक्ति पार्टीमा आवद्ध हुँदै गए।

 उनले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आफ्ना क्रियाकलाप सुरु गरिन्। उनको पार्टी स्थानीय तहको निर्वाचन लड्ने कुरालाई ठूला दलका नेता कार्यकर्ताहरुले मजाकका रुपमा लिए। धेरैले थारु समुदाय रेशमको नाममा उनकी श्रीमतीको पछि नलाग्ने ठोकुवा गर्न थाले।    शहरी क्षेत्रमा उनको सकृयतालाई मजाकका रुपमा चर्चाको विषय बनाउन थालियो। तर उनले ग्रामीण बस्तीमा आफ्नो पकड मजबुत बनाउँदै लगिन्। उनले थारु समुदायलाई टार्गेट गरिन्। दिनरात नभनेर हरेक थारु बस्तीमा पुगिन्।  

उनले आफ्नो श्रीमानलाई न्याय दिनका लागि भन्दै हरेक थारु बस्तीमा अनुनय गर्न थालिन्। ‘न्यायका लागि एक मत’ भन्ने नारा ब्यापक बन्यो। रेशम चौधरीको न्यायका लागि भन्दै गाउँगाउँमा गीत गुञ्जिन थाले। सडक नाटक प्रर्दशन हुन थाले। सभा समारोह आयोजना हुन थाले।  

टीकापुर नगरपालिकामा पार्टी प्रति देखिएको जनलहरले अध्यक्ष श्रेष्ठ उत्साहित भईन। उनले टीकापुर आसपासका पालिकाहरुमा समेत चासो दिन थालिन्। भजनी नगरपालिकाका साथै जानकी र जोशीपुर गाउँपालिकामा समेत स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम सुरु भए। त्यहाँ पनि त्यस्तै खालको उत्साह देखिन थाल्यो।

उनले चारवटै पालिकालाई लक्षित गरेर चुनावी गतिविधि थालिन। सके सबै पालिका नत्र टीकापुर नगरपालिकामा जसरी पनि जित हात पार्ने लक्ष्यका साथ पार्टीले अभियान थाल्यो। नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष रहेका रामलाल डगौरा थारु नागरिक उन्मुक्तिका तर्फबाट मेयरका उम्मेदवारका रुपमा अघि सारिए। 

अध्यक्ष श्रेष्ठले नागरिक उन्मुक्तिको अभियानमा दलित समुदायलाई समेत जोडिन। उपमेयरमा शिक्षिका उल्कादेवी विकलाई अघि सारियो। विकले मनोनयन दर्ता हुनु भन्दा केही दिन अघि मात्रै शिक्षण पेशाबाट राजिनामा गरेकी हुन्।  

टीकापुर नगरपालिकामा ४२ प्रतिशत थारु मत छ। त्यसमाथि १३ प्रतिशत दलित मत पनि थपियो। दलित मतको जिम्मेवारी सम्हाले पार्टीका केन्द्रिय सदस्य रमेश विकले। उनी यसअघि काँग्रेसबाट टीकापुर नगरपालिकाको कार्यपालिका सदस्य रहेका थिए।  

उता भजनी नगरपालिकामा समेत दलित समुदायलाई समेटियो। मेयरमा केवल चौधरी र उपमेयरमा राजु तिरुवालाई अघि सारियो। जोशीपुर र जानकी गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै थारु समुदायबाटै रहे। जोशीपुरमा अध्यक्षमा चित्रबहादुर चौधरी र उपाध्यक्षमा रेखादेवी कठरियालाई उम्मेदवार बनाईयो। जानकीमा गणेश चौधरी अध्यक्षका रुपमा अघि सरे भने उपाध्यक्षमा लालमतीदेवी कठरियालाई अघि सारियो। चौधरी लामो समयको पत्रकारिता छोडेर अध्यक्षका लागि मैदानमा उत्रिए। यी सबै पालिकामा थारु बाहुल्य मत छ।  

नागरिक उन्मुक्तिले टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिकामा जितेको छ। जानकीमा जितको नजिक पुगेको छ। अध्यक्षका उम्मेदवार चौधरी प्रतिस्पर्धी भन्दा निकै मतान्तरले अघि छन्।

पार्टीले टीकापुरका हकमा भने उपमेयर गुमाएको छ। उल्कादेवी विक १५३ मतले माओवादी केन्द्रका खडकबहादुर शाहसँग पराजित भएकी छन। भजनी र जोशीपुरमा भने प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको छ।  

टीकापुरको मेयरमा जितेका थारुले नागरिक उन्मुक्ति पार्टी कुनै जाती विशेषको पार्टी नभएको बताए। उनले आफ्नो पार्टी सबै उत्पिडित जाती र वर्गको लागि राष्ट्रिय शक्ति बन्ने दावी गरे। उनले अब प्रदेश र संघमा जितेर देखाउने बताए। उनले टीकापुरलाई सबैको साझा फूलबारी बनाउन प्रयास गर्ने बताए। पार्टीकी अध्यक्ष श्रेष्ठले रेशम चौधरीले फेरी एक पटक जितेको बताईन्। उनले रेशमलाई न्याय दिलाउनुका साथसाथै जनताको अपेक्षा अनुसार अन्य कामहरु समेत गर्दै अघि बढ्ने बताईन्।  

के थियो टीकापुर घटना ?

२०७२ साल भदौ ७ गते टीकापुर घटना भएको थियो। सो घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। रेशम चौधरीलाई सोही घटनाको मुख्य योजनाकारको आरोप लागेको छ। उनी हाल डिल्लीबजार कारागारमा छन्।

उनी घटना लगत्तै भूमिगत भएका थिए। उनले भूमिगत अवस्थामै २०७४ मंसिर २१ गते सम्पन्न निर्वाचनमा कैलालीको क्षेत्र नं. १ बाट अत्याधिक बहुमतले जितेका थिए। उनी तत्कालिन अवस्थामा राजपाबाट चुनाव लडेका थिए। उनले चुनाव जितेपछि २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। 

नागरिकबाट