धनगढीका मेयरको पहिलो प्राथमिकता: सचिवालय सुदृढीकरण र अधुरा योजना कार्यान्वयन
2022/05/22, 12:01
 
ss

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले आफ्नो पहिलो प्राथमिकता सचिवालय सुदृढ गर्ने रहेको बताएका छन् । निर्वाचनको अन्तिम मत परिणाम घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मेयर हमालले भने, ‘मेरो पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने हो, किनभने सचिवालय सुदृढीकरण नगरेसम्म कुनै पनि योजना सही तरिकाले कार्यान्वयन हुँदैन । यहाँ जति सचिवालय छन्, त्यसलाई पारदर्शी, चुस्त, दुरुस्त र जनमुखी कसरी बनाउनेबारे कार्यालय प्रमुख, शाखा प्रमुखसँग बसेर, सल्लाह गरेर अगाडि बढ्छौँ ।’

त्यसपछि बाँकी योजनालाई चरणबद्ध रुपमा कार्यान्वयनमा जाने उनको भनाइ छ । उनले अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताए । आर्थिक वर्षको अन्तमा पनि आइसकेकाले ुपेन्डिङ्गुमा रहेका योजनालाई गुणस्तरीय बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । 

नयाँ आर्थिक वर्षदेखि नयाँ योजनाका साथ सबैको सहभागितामा र सबैले जित्ने गरी काम गर्ने मेयर हमालले प्रतिक्रिया दिएका छन् । उनी सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले हराउँदै धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

उनी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान मेयर नृपबहादुर वडलाई १२ हजार ४८ ।मतले हराउँदै विजयी भएका हुन् ।  हमालले २६ हजार ८६५ मत पाएका छन् भने वडले १४ हजार ८१७ मत पाए । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द ९ हजार ११५ मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । उनी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी शान्ति अधिकारी क्षेत्रीलाई २ हजार ८०९ मतले पराजित गर्दै विजयी भएकी छिन् । रानाले १५ हजार ४७९ मत प्राप्त गरेकी छिन् भने अधिकारी १२ हजार ६७० मत पाएकी हुन् । ९३ हजार १५१ जना मतदाता रहेको धनगढीमा जम्मा ६८.०४ प्रतिशत अर्थात ६३ हजार ७१५ मत मात्रै खसेको थियो ।