धनगढीका नयाँ मेयर गोपाल हमालः टिनको बाकस बनाउने व्यवसायदेखि मेयरसम्मकोे यात्रा
2022/05/22, 6:31
 
ss

सुदूरपश्चिको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाल विजयी भएका छन्। नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी भएका हुन्। 

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वड यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए। हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन्। यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्।

को हुन् हमाल ?
२०२० साल जेठ १६ गते कैलालीको तत्कालिन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका हमाल कृष्णप्रसाद र झरेन्द्रदेवीका माइला छोरा हुन्। उनले धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरे। उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे।  भारत्तोलनका राष्ट्रिय खेलाडी रहेका हमाल खेलकुदका विभिन्न संस्थामा पनि लामोसमय आवद्व रहे। युवा उमेरदेखि नै हमालले धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरे। ०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाका लागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए।

त्यसयता उनले कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए। उक्त अभियानमार्फत हमालको नेतृत्वमा सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास भएको थियो। त्यसअघि सुदूरपश्चिम अभावै अभावको क्षेत्र हो, त्यहाँ देउकी प्रथा छ, छाउपडी प्रथा छ, सामाजिक कूरीति छन्, दलित गैरदलितमा भेदभाव छ भनेर नकारात्मक कुराको बढी प्रचार हुन्थ्यो।

त्यसलाई चिर्न सुन्दर सुदूरपश्चिम अभियान चलाइएको थियो। सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिर देशब्यापी रूपमा प्रदर्शनीमा लगिएपछि उक्त अभियान चर्चामा आएको थियो। त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार)का रूपमा पनि लिइन्छ।  डेढ दशक अगाडि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा संघले सर्वोत्कृष्ट शाखाको पुरस्कार पायो। उनकै नेतृत्वमा सुदूरपश्चिममा पुग्ने केन्द्रका प्रभावशाली नेतालाई यहाँका समस्या सम्झाउन लागि मागका बुँदा बराबर तौल भएको माला लगाउने अभियान सुरु गरियो। धनगढीमा महोत्सवको सुरुवात गरेर २१ बुँदे मागसहित २१ किलोको माला शेरबहादुर देउवाले त्यही अभियान अन्तर्गत पाएका थिए। 

हमालले धनगढी उपमहानगरमा कपडा बैंक र निशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरेका छन्। दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन्।  हमालले व्यवसाय भने टिनको वाकस बनाउन सुरु गरेर थालेका थिए। मेयरमा निर्वाचित भएका उनले उपमहानगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई धनगढी मोडेल स्थापित गर्ने घोषणा गरिसकेका छन्।