सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १–१ जिल्लामा निल
2022/05/24, 12:55
 
ss

सुदूरपश्चिम प्देशका ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाहेक प्रदेशका सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो। 

प्रदेशमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ। काँग्रेसले ४० प्रमुख र अध्यक्ष जितेको छ भने ४७ पालिकामा उपप्रमुख र उपाध्यक्ष जितेर पहिलो पार्टी बनेको हो।

०७४ सालमा काँग्रेसले ३८ स्थानीय तहमा प्रमुख र अध्यक्ष जितेको थियो। यस्तै २५ वटा स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा २४ स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षमा जित निकाल्दै नेकपा एमाले दोस्रो पार्टी बनेको छ।

०७४ सालमा भने एमाले प्रदेशमा ३९ स्थानमा जित निकाल्दै पहिलो पार्टी बनेको थियो। ०७४ सालमा १० स्थानीय तह जितेको नेकपा माओवादी केन्द्र यसपटक १४ स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा ११ पालिकामा उपप्रमुख र उपाध्यक्षमा जित हासिल गर्दै तेस्रो पार्टी बनेको छ।

चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ। उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन वटामा उपप्रमुख र उपाध्यक्ष जितेको छ।

नेकपा एकीकृत समाजवादीले दुई पालिकामा प्रमुख र अध्यक्ष जितेको छ भने उपप्रमुख र उपाध्यक्ष पनि ३ स्थानमा जितेको छ। प्रदेशका दुई स्थानीय तहमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्। 

सुदूरपश्चिममा एकीकृत समाजवादी ७ तथा काँग्रेस, एमाले र माओवादी केन्द्र १–१ जिल्लामा निलभएका छन्। काँग्रेसले दार्चुला, माओवादीले बाजुरा र एमालेले डडेल्धुरा जिल्लामा एउटा पालिका पनि जित्न नसकेको हो। एकीकृत समाजवादीले भने कैलाली र बझाङबाहेक कुनै जिल्लामा पनि स्थानीय तहको प्रमुख र अध्यक्ष जित्न सकेको छैन।

काँग्रेसले डोटीका ७, अछामका ७, बझाङका ६, डडेल्धुराका ५, कञ्चनपुरका ५, बैतडीका ४, बाजुराका तीन र कैलालीका तीन स्थानीय तहमा जित निकालेको छ। यस्तै एमालेले दार्चुलाका ५, बाजुराका ५, बैतडीका ४, बझाङका ३, कञ्चनपुरका ३, कैलाली र अछाम २र२ तथा डोटीको एक स्थानीय तहमा जितेको छ।

माओवादी केन्द्र भने दार्चुलाका चार, बझाङ, डडेल्धुरा र कैलालीका २÷२, बैतडी, डोटी, अछाम र कञ्चनपुरका एक÷एक स्थानीय तहमा जितेको छ।