कैलालीमा १२६ वडा: कुन दलको भागमा कति ?
2022/05/26, 2:14
 
ss

कैलालीमा नेपाली काङ्ग्रेसले सबैभन्दा बढी वडा जितेको छ । जिल्लामा तीन पालिका जितेर दोस्रो ठूलो दल बनेको सो पार्टी वडा जित्नेमा भने पहिलो भएको छ । नेपाली काङ्ग्रेसले जिल्लामा रहेको १२६ मध्ये ५७ वडामा आफ्नो जितको झण्डा फहराएको छ । १३ मध्ये दुई वटा पालिकामा भने यो पार्टीले वडामा जितविहीन नतिजामा चित्त बुझाएको छ । 

यसैगरी, कैलालीमा तेस्रो ठूलो दल बनेको नेकपा (एमाले) ले २९ वडामा जित निकाल्दै वडा जित्नेमा दोस्रो स्थान प्राप्त गरेको छ । एमाले एक वटा पालिकामात्रै वडामा जितविहीन रहेको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र) ले १९ वडामा जित हासिल गरेको छ । 

कैलालीमा चार पालिका प्रमुख जितेर पहिलो दल बनेको नागरिक उन्मुक्ति पार्टीले १४ वटा वडामा जित हासिल गरेको छ । प्रमुख जितेका पालिकाहरु भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले वडामा जित हासिल गरेको हो ।   नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जशपा) को भागमा दुई÷दुई वडा परेको छ । तीन वटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

धनगढी उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसले ११, नेकपा (एमाले) ले छ र नेकपा (माओवादी केन्द्र) ले दुई वडा जितेका छन् । यस्तै, गोदावरी नगरपालिकामा नेपाली काङ्ग्रेसले सात, नेकपा (एमाले) ले चार वडा जितेका छन् । एक वडा स्वतन्त्र उम्मेदवारको पोल्टामा गएको छ । 

गौरीगङ्गा नगरपालिकामा नेपाली काङ्ग्रेसले पाँच वडा जितेको छ । त्यस्तै, नेकपा (एमाले) ले एक, माओवादी केन्द्रले चार र नेकपा (एकीकृत समाजवादी) ले एक वडा जितेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

कैलारी गाउँपालिकामा नौ वटै वडा नेपाली काङ्ग्रेसले ‘क्लीन स्वीप’ गरेको छ । २०७४ को निर्वाचनमा सो पालिकामा पाँच वडा माओवादी केन्द्र, दुई काङ्ग्रेस र दुई अन्यले जितेका थिए । तर, यस पटक नेपाली काङ्ग्रेसले आफ्नो प्यानलसहित सबै वडामा जित हात पारेको छ । 

भजनी नगरपालिकामा नेपाली काङ्ग्रेसले एक वडामामात्रै चित्त बुझाएको छ । एमालेले दुई, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले तीन÷तीन वडामा जित हात पारेका छन् । यसैगरी, चुरे गाउँपालिकामा नेपाली काङ्ग्रेसले दुई वडा जितेको छ । एमालेले चार वटा वडामा जित्दा अन्य दलभने सो पालिकाको वडामा जितविहीन रहेका छन् । 

मोहन्याल गाउँपालिकामा नेपाली काङ्ग्रेसले चार वडामा विजयीको झण्डा फहराएको छ । नेकपा (एमाले) ले एक र माओवादी केन्द्रले दुई वडामा जित हात पारेका छन् । घोडाघोडी नगरपालिकामा नेपाली काङ्ग्रेसले नौ, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एक÷एक वडा जितेका छन् । बर्दगोरिया गाउँपालिकामा नेपाली काङ्ग्रेसले एक, एमाले र माओवादी केन्द्रले दुई/दुई वडा जितेका छन् । एक वडामा स्वतन्त्रको जित भएको छ । 

यसैगरी, जोशीपुर गाउँपालिकामा एमाले र माओवादी केन्द्रले एक÷एक वडामा चित्त बुझाएका छन् । नागरिक उन्मुक्ति पार्टीले सबैभन्दा बढी चार वटा वडामा जित हात पा¥यो । जनता समाजवादी पार्टीको भागमा एक वडा परेको छ । पूर्वमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका नेताद्वय रामजनम चौधरी र जनकराज चौधरीको गृह पालिकासमेत रहेको जोशीपुरमा नेपाली काङ्ग्रेसले वडासमेत जित्न सकेन । सो पालिकामा शून्यमा काङ्ग्रेसले चित्त बुझाएको छ । 
यसैगरी, टीकापुर नगरपालिकामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र तीन/तीन वडामा विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीले दुई वडा जित्दा नेकपा (एमाले) ले भने एक वडामै चित्त बुझाएको छ । 

यस्तै, जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले सबैभन्दा बढी पाँच वडामा जित हात पारेको छ । नेकपा (एमाले) ले चार वडा जितेको छ । यो पालिकामा नेपाली काङ्ग्रेस भने वडामासमेमत जितविहीन रह्यौं । अध्यक्षमा पराजित भएको नेपाली काङ्ग्रेसले वडासमेत जित्न सकेन । 

१० वटा वडा रहेको लम्कीचुहा नगरपालिकामा नेपाली काङ्ग्रेसले सबैभन्दा बढी पाँच वटा वडा जितेको छ । नेकपा (एमाले) ले दुई वटा वडा जितेको छ । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रको भागमा भने एक÷एक वटा वडा परेको छ ।
 

ठूला दललाई अनपेक्षित नतिजा 
हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । विसं २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यशपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो । सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् । 

पाँच वर्षअघिको चुनावमा सात पालिका प्रमुखमा विजयी भएको एमालेले सम्पन्न चुनावमा आफ्नो यसअघिको विरासत जोगाउन सकेन। एमाले दुई पालिका प्रमुखमा मात्र विजयी हुन सक्यो। कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच पालिका तहका प्रमुख उपप्रमुखमा तालमेल गरिएकोमा वडा तहका अध्यक्ष र सदस्य पदमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको थियो। एमाले, नेपाल परिवार दललगायतसँग चुनावी तालमेल गर्ने बताए पनि उम्मेदवारी मनोनयन गर्दा ती दलसँग तालमेल गरेर उम्मेदवारी दिएको कतै देखिएन ।

जिल्लाको दक्षिणपूर्वी क्षेत्रका चार पालिका तहमा सम्पन्न निर्वाचनको परिणाम नागरिक उन्मुक्ति पार्टीको पक्षमा गएपछि सो क्षेत्रमा ठूला दलले आफ्नो पुरानो विरासत गुमाउन पुगेका छन् ।   ठूला दलको विरासत तोड्दै भर्खरै स्थापना गरिएको नागरिक उन्मुक्ति पार्टी टीकापुर नगरपालिकाको प्रमुख,जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, तथा भजनी नगरपालिकाको प्रमुख÷उपप्रमुखमा विजयी बन्न शफल भएको छ।

टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीको पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र यो पार्टी स्थापना भएको थियो। टीकापुर र आशपासको क्षेत्र कांग्रेसका नेताहरु रामजनम चौधरी, ईश्वरी न्यौपाने, डा रणबहादुर रावल, नारायणदत्त मिश्र, माओवादीका नेता नेपबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी) का नेतृ गरिमा शाहको राजनीतिक कर्म थलो हो । 

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका एमालेका नेता लेखराज भट्टको गृह क्षेत्र गोदावरी नगरपालिकाको प्रमुखमा समेत एमालेले पराजय व्यहोरेको छ । एमालेले नगर प्रमुखको प्रत्यासी बनाएको  भट्टका सहोदर भाइ गोकर्ण भट्ट पराजित भए । सुदूरपश्चिम प्रदेशको राजधानी सहर र एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा कांग्रेस, एमालेजस्ता ठूला पार्टी पराजित भएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी एवं समाजसेवी गोपाल हमाल प्रतिस्पर्धीसँग ठूलो मतान्तरले विजयी भए । 

आफू प्रमुखमा विजयी भएमा उपमहानगरपालिकाबाट पाउने सुविधा नलिने घोषणा गरेर चुनावमा होमिएका व्यवसायी हमालको सार्वजनिक गरेका ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने आकर्षक नाराबाट नगरवासी प्रभावित भएका थिए । यसबाहेक विगतमा कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्व गर्दा सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि गरेको प्रयास र पाएको शफलताका साथै सामाजिक क्षेत्रमा पु¥याएको योगदानका कारण हमाल रोजाइमा परेको नगरवासीको भनाइ छ । 

उपमहानगरपालिकामा रहेको पेश्की बेरुजु रकम असुलउपर गरी बेरुजुलाई शून्यमा झार्ने, भ्रष्टाचारमुक्त पार्दै उपमहानगरलाई मुलुककै सुन्दर समुन्नत र नमूना सहर बनाउने प्रतिबद्धताले पनि उनलाई नगरवासीले रुचाएका हुन् । विसं २०४८ यता भएका स्थानीय तहको निर्वाचनमा उपमहानगरको प्रमुख, उपप्रमुखमा एमाले एक चुनावमा र कांग्रेस दुई चुनावमा विजयी भएको थियो।

सम्पन्न निर्वाचनमा सत्तासाझेदार दलबीच पालिका तहको प्रमुख उपप्रुखमा गरिएको तालमेल जिल्लाको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिमामा मात्र पूर्णरुपमा शफल देखिएको छ। तालमेल भएका अन्य कतिपय पालिकामा सत्ता गठबन्धन दलका प्रत्यासी प्रमुखमा विजयी हुँदा उपप्रमुख पराजित भएका छन् भने उपप्रमुख विजयी भएका सत्ता साझेदार दलका प्रमुखका उम्मेदवार कतिपय पालिकामा पराजित भएका छन् ।  जिल्लामा १३ पालिका रहेका छन् । 

कांग्रेसले गोदावरी र लम्कीचुहा नगरपालिको प्रमुख तथा कैलारी गाउँपालिकाको अध्यक्षमा, चुरे, मोहन्याल, कैलारी, गाउँपालिकको उपाध्यक्ष तथा घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको उपप्रमुखमा विजयी भएर चित्त बुझाउनुपरेको छ । निर्वाचनमा विजयी कांग्रेसका उपप्रमुख प्रत्यासीको सङ्ख्या भने यसअघिको निर्वाचनको भन्दा बढेको छ। माओवादी केन्द्रका मोहन्याल गाउँपालिकाको अध्यक्ष र गौरीगङ्गा नगरपालिकाको प्रमुखमा तथा टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ । 

एमाले सम्पन्न निर्वाचनमा चुरे र बर्दगोरिया गाउँपालिकाको अध्यक्ष, धनगढी उपमहानगरपालिका, गोदावरी र लम्कीचुहा नगरपालिकाको उपप्रमुखमा विजयी भएको छ ।  एकीकृत समाजवादी घोडाघोडी नगरपालिकाको प्रमुखमा विजयी भएको छ ।

विसं २०७४ को निर्वाचनमा जिल्लाका सात पालिका प्रमुखमा विजयी बनेका एमालेका लागि यशपालिको स्थानीय तहको निर्वाचन बढी अनपेक्षित बन्न पुग्यो । कांग्रेसले यसअघिको चुनावमा विजयी भएको धनगढी उपमहानगरपालिकाको प्रमुख, बर्दगोरिया र जोशीपुर गाउँपालिकाको प्रमुख गुमाएको छ । माओवादी केन्द्रले कैलारी गाउँपालिको अध्यक्ष र भजनी नगरपालिकाको प्रमुख गुमाएको छ ।