अमरगढीको ढिलाइका कारण दुःख पाउँदै विद्यार्थी, ३ महिनासम्म दिएन स्कुल बस  
2022/07/10, 12:41
 
ss

डडेल्धुराको अमरगढी नगरपालिकाले नयाँ शैक्षिक शत्रमा नगरभित्रका दुई विद्यालयलाई स्कुल बस दिने भन्दै आवेदन दिन आह्वान गरेको थियो। सोहीअनुसार महेन्द्र माध्यमिक विद्यालय खंलगा र भागेश्वर मावि टाँटरले आवेदन दिएका थिए।

नगरपालिकाले बस दिने निर्णय गरेपछि महेन्द्र माध्यमिक विद्यालयले टाढा टाढाका विद्यार्थी भर्ना गरेको छ। तर, वैशाखमा दिने भनेको बस असार कट्नै लाग्दासमेत नदिएको महेन्द्र माध्यमिक विद्यालयका नासु धर्म पन्त बताउँछन्। अमरगढी नगरपालिकाले स्कुल बस दिन ढिलाइ गर्दा समस्या भएको उनले बताए। 

टाढा टाढाका विद्यार्थी भर्ना गरेको विद्यालयमा स्कुल बस समयमै नआउँदा विद्यार्थीले समस्या भोग्नु परिरहेको महेन्द्र माविकै शिक्षक किशोर बमले बताएका छन्। विद्यालय र नगरपालिकाको ५० प्रतिशत सहभागितामा दुई वटा विद्यालयलाई चालु शैक्षिक सत्रको सुरुवातमै स्कुल बस दिने भनेको नगरपालिकाले शैक्षिक सत्र सुरु भएको तिन महिना बितिसक्दा पनि स्कुल बस दिने कुनै छाटकाट नै छैन।

बस खरिद गर्ने सर्त अनुसार महेन्द्र माध्यमिक विद्यालयले १० लाख ५५ हजार रूपैयाँ बुझाइसकेको छ भने भागेश्वर माविले पैसा अभाव भएको जनाउँदै दिन सकेको छैन।

अमरगढी नगरपालिकाले भने ठेक्का सम्झौता भएर आसय समेत स्वीकृत भइसकेको र कर छुटका लागि कागज बनाउदा ढिलाई भएको जनाएको छ। स्कुल बस भारतबाट ल्याउनुपर्ने भएकोले ढिलाइ भएको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले जानकारी दिए।

टाढाका विद्यार्थीहरूका लागि आवत–जावतमा आएको समस्या सामाधानका लागि महेन्द्र मावि खलंगाले भारतीय राजदुतावासमार्फत एउटा स्कुल बस प्राप्त गरिसकेको।  अब अमरगढी नगरपालिकाले तत्काल विद्यालयलाई स्कुल बस हस्तान्तरण गरे विद्यालयसँग दुईओटा स्कुलबस हुनेछन्।