सुदूरपश्चिमको स्याउली थाप्ने चलन लोप हुँदै
2022/08/14, 11:38
 
ss

 सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृतिको रुपमा रहेको स्याउली थाप्ने चलन लोप हुन थालेको छ।

कुनै व्यक्ति साइत वा शुभकार्यमा घर बाहिर कामका लागि जानुभन्दा पहिले केटाकेटी तथा महिलाहरुले घरभन्दा टाढा बीच बाटोमा गम्छा, रुमाल वा कपडाको टालोमाथि हरियो घाँस, फूलहरु, हरियो स्याउलाहरु राखेर साइत शुभहोस् भन्ने चलनलाई यहाँको भाषामा स्याउली भन्ने गरिन्छ ।

साइतमा रहेका व्यक्तिहरुलाई काम, यात्रा अनि उसले सोचेको कार्य सफल होस् भन्ने हेतुले स्याउली थाप्ने चलन रहेको डोटी बहुमुखी क्याम्पस डोटीका पूर्व सह–प्राध्यापक डा. बद्रीशर्मा बिनाडी बताउँछन । उनले भने- बीच बाटोमा थापेको स्याउलीमा यात्रा वा साइतमा निस्केका व्यक्तिहरुले केही खानेकुरा, मिठाई वा आफ्नो दक्ष अनुसारको पैसा राख्दा साइत शुभ हुने विश्वास रहेको छ, अहिले यो चलन हराउँदै जान थालेको छ ।

डोटी सहित समग्र सुदूरपश्चिममा प्राय विदेशको यात्रा, विवाह, तीर्थ यात्रा, शुभ कार्यमा जानेहरुको साइत सफल होस् भन्ने हेतुले हरिया स्याउलाहरु राखेर शुभ यात्रा गर्ने चलन रहेको छ । पछिल्लो समयमा लोप हुन लागेका यस्ता मौलिक कला, संस्कृतिको संरक्षण, प्रवर्द्धनमा स्थानीय सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने स्थानीयको भनाइ छ । 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा वैशाख १ गते सिस्नु खेलेर मनाइने बिसु पर्व, साइतमा जानेहरुका लागि स्याउली थाप्ने चलन, साउन महिनामा धानको खेतबारीमा गएर मनाइने राइतो, बटुक पकाएर हरेला खाने लगायत संस्कृतिहरु बिस्तारै लोप हुन थालेका छन् । 

स्थानीयस्तरमा रहेका कला, मौलिक संस्कृति, जातजाति, धर्म, लिङ्ग, वर्ण, धार्मिक एवम् पर्यटकीय स्थल, सामाजिक परिवेश झल्किने खालका विषयवस्तु स्थानीय पाठ्यक्रममा समेट्न आवश्यक भएको स्थानीयको भनाइ छ ।