भारत हिँडेका बझाङको बुङ्गलका ५ जनाको जीप दुर्घटनामा मृत्यु, शोकमा डुब्यो गाउँ
2022/08/18, 2:27
 
ss

दार्चुलाको शैल्यशिखर नगरपालिका–५ को उल्लानीमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाएका सबै बझाङका भएको खुलेको छ । कामको खोजीमा भारततर्फ हिडेका बझाङको बुङ्गल गाउँपालिका–८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक रणबहादुर विष्टकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बुङ्गल गाउँपालिका–८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् । मृतक मध्येका रैभान र चम्फा श्रीमानश्रीमती भएको खुलेको छ ।

उनीहरुसँगै भारत गइरहेका धनबहादुर जाग्री भने घाइते छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा वडाका पाँच जनाको मृत्यु भएपछि बुङ्गल गाउँपालिका–८ शोकमा डुबेको छ ।

बुधबार गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको उनीहरु सवार से १ ज ५५१ नम्बरको जीप दिउँसो करीब ४ बजेतिर दुर्घटनामा परेको थियो । उनीहरु सबै रोजगारीको खोजीमा भारत गइरहेका थिए । दुर्घटनामा परेर चालकसहित अन्य ९ जना घाइते भएका छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।