ठेकेदार पूर्व मेयर साउँदलाई कारबाही गर्ने विप्लव नेकपाको चेतावनी
2022/08/19, 12:35
 
ठेकेदार पूर्व मेयर साउँदलाई कारबाही गर्ने विप्लव नेकपाको चेतावनी

धनगढी – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराले परशुराम नगरपालिकाका पूर्व मेयर एवम् राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउँदलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार जिल्ला समितिले विज्ञप्ति जारी गर्दै साउदले बुडर–दैजी सडक खण्डमा काम गर्ने मजदुरको ज्याला नदिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

‘राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउदले बुडर–दैजी सडकमा काम गर्ने मजदुरको पारिश्रमिक अहिलेसम्म पनि नदिएको र मजदुरको ब्याजसहित यथाशीघ्र भुक्तानी नभएको खण्डमा पार्टीले जनकारबाही गर्न बाध्य हुनेछ।’ कमरेड धरातल द्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

उता नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहेका राजेन्द्र निर्माण सेवाका सञ्चालक साउदले ज्यालाको कुरा विशुद्ध राजनीतिक फण्डा भएको बताए । उनले काम गर्ने सिलसिलामा कहिकतै कुनै मजदुरको ज्याला दिन बाकी रहेको भए २÷३ दिनभित्रै चुक्ता गरिने बताए । उनले मजदुरलाई अप्ठ्यारोमा पारेर आफूले अहिलेसम्म कुनै पनि काम नगरेको बताए ।