राशन घोटाला गरेको आरोप लागेका एसपीको जिम्मेवारी खोसियो
2022/08/19, 3:31
 
ss

सशस्त्र प्रहरी बल दार्चुलाका एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी विष्टलाई जिम्मेवारीबाट हटाइएको हो ।

आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको छ । 

कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ । तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर अनियमितता गरेको आरोप छ ।

राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले एसपी विष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाइएको हो । 

यसअघि एसपी विष्टले राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेशसिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो । हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् ।

साहुमाथि संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप लागेको छ । राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचनासमेत चुहाएको आरोप उनीमाथि लागेको हो ।  तर, हवल्दारले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए ।