एनआईसी एसिया बैंक बझाङमा कार्यरत एक कर्मचारी मृत फेला, आफन्तद्वारा  कार्यालय तोडफोड
2022/08/26, 11:20
 
ss

बझाङ - एनआईसी एसिया बैङ्क बझाङमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा जयपृथ्वी नगरपालिका –११ पिठालेक घर भएका बर्ष ५२ का रोहित थापा रहेका छन् ।

उनी भदौ ३ गतेदेखि कसैको सम्पर्कमा नरहेको उनका आफन्त रतन थापाले जानकारी दिए । थापा बुधबार जिल्लाको केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा मृत अवस्थामा फेला परेका थिए ।  उनी  ३ बर्षदेखि एनआईसी एसिया बैङ्कमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेका थिए ।

उनी भदौ ३ गते साँझ ६ बजेपछि अफिसबाट विदा भएपछि भोलीपल्ट सम्पर्क विहिन भएको बुझिएको छ । मृतक थापाका आफ्न्तले बैंक विरुद नारा लगाउदै बेपत्ता भएको एक हप्तासम्म पनि आफुहरुलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैङ्कमा ढंगामुडा गरेका छन् । उनीहरुले बैङ्कको कार्यालयमा तोडफोड गरेको छ । मृतक थापाका आफन्तले शब बुझ्न मानेका छैनन् । 

शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत राखिएको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्र्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । साथै बैङ्कमा असुरक्षा भएको भन्दै केहि दिन सुरक्षाको घेरामा राखेर सेवा संचालन गरिने डिएसपी भण्डारीले बताए ।