दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्री खाँणको निर्देशन
2022/09/10, 7:10
 
ss

काठमाडौँ-  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरुको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । मन्त्री खाँणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितहरुको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ । मन्त्री खाँणको निर्देशनपछि घटनास्थलमा घाइते र प्रभावितहरुको उद्धार र खोजी कार्यका लागि हेलिकप्टर परिचालन गरिएको र घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार रहेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका सहसचिव प्रदीप कोइरालाले जानकारी दिए ।

शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी मृत्यु भएका ५ जनाको शव भटिएको छ भने अझै ७ जना बेपत्ता छन् ।पहिरोमा परी आठ जना घाइते भएका र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी मोहन आचार्यले जानकारी दिए ।

पहिरोमा परी ७७ वर्षीय नन्दराम बोहरा, ६८ वर्षीय मोहनराम पार्की, ३२ वर्षीय जानकी ठगुन्ना, ३५ वर्षीय मानमति कार्की र १५ वर्षीय धनुली ठगुन्नाको ज्यान गएको छ ।पहिरोमा परी बिरे ठगुन्ना, रम्भा ठगुन्ना फागुनि ठुगुन्ना, जयबहादुर ठगुन्ना, हर्कसिंह शाहु, अमर सिंह पार्की, मुसि पार्की र राम टमाटा घाइते छन् । प्रहरीका अनुसार पहिरो परी धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, मानमती शाहु, मञ्जु लोहार, दिनेश लुहार, डल्ली लोहार र साजन लोहार बेपत्ता छन् ।