पचास वर्षमा पनि पूरा नभएको सिँचाइ पोखरी
2022/09/11, 6:28
 
ss

डडेल्धुरा- २०२९ सालमा निर्माण गरिएको सुदूरपश्चिमको सबैभन्दा बढी क्षमताको सिँचाइ पोखरी निर्माण भएदेखि नै रित्तो छ । विभिन्न मेला र चाडपर्वमा भने पोखरी मान्छेको भीडले भरिने गरेको छ । अमरगढी नगरपालिका–७, (तत्कालीन उग्रतारा गाविस–५) पोखरामा सिँचाइका लागि निर्मित पोखरी सिँचाइ प्रयोजनमा भने कहिल्यै आउन सकेको छैन । 

सुनपोखरी नामको उक्त पोखरी डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पूर्वतर्फ राजमार्गसँगै जोडिएको छ । पानीबिनाको पोखरीभित्र चाडपर्वका बेला स्थानीयले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । अन्य समयमा बालबालिका खेल्ने गरेका छन् । वडा कार्यालयले छाडा पशुचौपाया थुन्नसमेत प्रयोग गर्दै आएको छ । 

पोखरा क्षेत्रमा एक दर्जन गाउँमा सिँचाइको व्यवस्था गर्ने लक्ष्यका साथ पोखरी निर्माण गर्न थालिएको थियो । पोखरीको पानी पूर्वतर्फबाट भट्गाउँ, नानीभट्गाउँ हुँदै नहर लगेर जोशीगाउँ, भन्तनगाउँ, ओखरमुनि, ऐरीगाउँ, राउतगाउँ हुँदै सल्लागाउँसम्म पु¥याउने योजना थियो। त्यस्तै पश्चिमतर्फ तिलाडी, पोखरा शेराखेत, सिरोला, भाटागाउँसम्म नहर पु¥याएर सिँचाइ गर्ने योजना बनाइएको थियो। सो योजनाअनुसारको लक्ष्य हालसम्म पनि पूरा हुन सकेको छैन । २०२९ सालमा ८५ हजार रुपैयाँ लागत अनुमानमा ११० फिट लम्बाइ, ८५ फिट चौडाइ र आठ फिट गहिराइको पोखरी निर्माण गरिएको स्थानीय केशव भट्टराईले बताए । यसको क्षमता करिब साढे तीन लाख लिटर हुने सिँचाइ कार्यालय डडेल्धुरका सबइन्जिनियर रोशन भट्टले बताए । 

डेढ किलोमिटर टाढाबाट नहर मर्मत गरेर ढुङ्गाको गारोमा सिमेन्टले ढलान गर्ने योजना थियो । तर, सो रकममा नहर र पोखरी खन्ने काम मात्रै भएको थियो । भट्टराईका अनुसार रकम अपुग भएपछि थप रकम माग गरिँदा एक लाख आठ हजार रुपैयाँ पुनः निकासा भएको थियो । थप रकमले गारो र प्लास्टरको काम भएको थियो । घेरबार र इन्टेक बनाउन रकम अभाव भएपछि तत्कालीन अञ्चालाधीशसँग फेरि बजेट माग गरिएको थियो । तर, केही स्थानीयले प्रशासनसमक्ष अनियमितता भएको निवेदन दिएपछि निर्माण कार्य रोकिएको थियो । 
२०२९ देखि २०३४ सालसम्म पोखरी निर्माण समितिका अध्यक्ष भोजराज भट्टराई थिए । त्यसयता जीर्ण रहेको पोखरी २०५९ सालमा पुनः मर्मतका लागि टेन्डरमार्फत काम थालिएको तत्कालीन निर्माण समितिका अध्यक्ष हरिलाल पार्कीले जानकारी दिए । नौ लाख रुपैयाँको टेन्डर घटाघटीमा ठेकेदारले छ लाखमा काम गरेको उनले बताए । सो रकममा पोखरीभित्र छड बिछ्याई कङ्क्रिट र सिमेन्टको चार इन्च ढलान र करिब दुई किलोमिटर लामो ९० इन्चको पाइपलाइन बिछ्याइएको उनले बताए । पोखरीको दक्षिणतर्फ बाहिरको भागमा सुरक्षाका लागि तारजालीको पर्खालसमेत लगाइएको र चौतर्फी रूपमा काँडेतारले घेरबार पनि गरिएको उनले बताए । २०६६ साल असोज महिनाको अविरल वर्षाले पोखरीको बीच भागबाट करिब चार इन्च जति चिरा परेपछि त्यसयता कुनै काम नभएर जीर्ण अवस्थामा रहेको हो । 

हाल सो पोखरीको छेउमा अर्को सानो पोखरी बनाई पोखरा, तिलाडी, भाटागाउँ र सिरोलागाउँका केही खेतमा सिँचाइ गरेर तरकारी खेती गरिने गरिएको छ । अन्य गाउँमा भने यो पोखरीको पानी कहिल्यै लैजान सकिएको छैन। पोखरी पुनर्निर्माण गर्नसके पोखरा क्षेत्रका एक दर्जन गाउँका झन्डै छ हजार स्थानीय लाभान्वित हुने स्थानीय पार्कीको भनाइ छ । पोखरी निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र हालसम्म सङ्घीय र प्रदेश सरकारले बजेटको व्यवस्था गर्न नसकेको वडाध्यक्ष खड्क बोहराले बताए ।