मन्त्री बडु सहितको टोली दार्चुलाको बाढी प्रभावित क्षेत्रमा तटबन्धनमा सघाउँदै
2022/09/11, 6:35
 
ss

धनगढी-  अविरल वर्षापछि बाढीपहिरोले प्रभावित बनेको दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसहितको टोली तटबन्धनको काममा सघाउन थालेको छ ।

लास्कु खोलाले कटान गरेको क्षेत्रमा पुगेका मन्त्री बडुले प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितीमा भइरहेको तटबन्धनमा ढुङ्गा बोकेर सघाइरहेका छन् ।

उनले ढुङ्गा बोकेर तटबन्धनमा सहयोग गरिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले स्थानीयको सहयोगमा अस्थायी तटबन्ध निर्माणको काम भइरहेको जानकारी दिए ।

उनकाअनुसार महाकाली नगरपालिका–४ बाङ्गाबगरमा पर्ने लास्कु खोलाले कटान गरिरहेको क्षेत्रमा तटबन्धन निर्माणको काम भइरहेको हो ।शुक्रबार रातिदेखिको अविरल वर्षापछि जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा आएको बाढीपहिरोले ठूलो क्षति पुगाएको छ ।

दुवै स्थानीय तहमा गरेर पाँच जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन् । ८ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।