कञ्चनपुरस्थीत महाकाली चार लेन पुलको काम ८१ प्रतिशत सम्पन्न
2022/09/16, 4:22
 
कञ्चनपुरस्थीत महाकाली चार लेन पुलको काम ८१ प्रतिशत सम्पन्न

कञ्चनपुर - कञ्चनपुरस्थीत महाकाली चार लेन पुलको काम ८१ प्रतिशत सम्पन्न भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको महाकाली पुलको काम ८१ प्रतिशत सम्पन्न भएको हो।

महाकाली नगरपालिकाको सडक संजालसँग जोडिने यो महाकाली चार लेन पुललाई सुदूरपश्चिम प्रदेशको गौरवको रूपमा र बहुअपेक्षित पुलको रूपमा लिइएको छ। ठेकेदारसँंग २०७८ जेठमा सम्पन्न गर्नुपर्ने सम्झौता भए तापनि कोरोना महामारीका कारण ढिलाइ हुँदा सरकारले डेढ वर्ष ठेक्काको म्याद थपेको थियो। कोरोनाको त्रास कम भएपछि तीव्ररूपमा सुचारु भएको कामले अहिले पूर्णता पाएको छ। पुलमा हुने सबै ३४ पिल्लर र ३२ स्ल्याब निर्माण भइसकेको योजनाका प्रमुख इन्जिनियर किशोर पाण्डेयले जानकारी दिए।

गतवर्ष महाकालीमा आएको बाढीका कारण निर्माणाधीन पुलका कतिपय संरचना बगाएको र पुलतर्फ जाने रोडसमेत भत्काएकाले सरकारले ठेकेदारसंँग पछिल्लो सम्झौता लागत तीन अर्ब २७ करोड ९३ लाख २४ हजारबाट बढाएर तीन अर्ब ६६ करोडमा पुर्‍याएको छ। पुलको अरु संरचनामा पोखरी निर्माणकार्य मात्र बाँकी रहेको छ। पोखरी निर्माणकार्य प्रक्रियामा रहेकाले छिट्टै सम्पन्न गरी आगामी कात्तिकसम्म पूर्णरूपमा सम्पन्न हुने इन्जिनियर पाण्डेयले बताए।

पुल निर्माणकार्य अन्तिम चरणमा पुगे पनि पुलको निर्माणको डिजाइन बीचमा बदल्नु परेका कारण नक्सा भेरिएसन भने अझै नभएको पाण्डेयले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ मा शिलान्यास गरेको पुल निर्माण कुमार सीएसईसी जेभी निर्माण कम्पनीले गर्दै आइरहेको छ। पुल सम्पन्न भएपछि नेपाल सरकारले निर्माण गर्न लागेको दोधरा–चाँदनी सुक्खा बन्दरगाह सञ्चालनमा सहजता आउने देखिन्छ।