बैतडीमा दशैँअघि खाद्य कम्पनीले चामल दिन नसक्ने
2022/09/19, 11:11
 
ss

बैतडी-खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडीका चार बिक्री केन्द्रमा दशैँअघि चामल नल्याउने भएको छ। बैतडी सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने चार हजार पाँच सय क्विन्टल चामल नआउने भएको हो। 

चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा टेन्डर नपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले जानकारी दिइन्। उनले भनीन्, “बैतडीको गोठालापानी बिक्री केन्द्रका लागि पाँच सय क्विन्टल, मेलौली बिक्री केन्द्रका लागि एक हजार क्विन्टल, कुलाउ बिक्री केन्द्रका लागि दुई हजार क्विन्टल र पुरचौडी नगरपालिकाको हाट बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल धनगढी गोदाममा रहेको छ। ढुवानीको टेन्डर नपरेका कारण दशैँअघि बैतडीका लागि चामल जाने सम्भावना छैन।”

सुदूरपश्चिमका बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा र डोटीका लागि भने टेन्डर परेका कारण चामल ढुवानी भइरहेको खाद्य कम्पनीले जनाएको छ।