डडेल्धुराको उग्रतारा मन्दिर पुरातन शैलीबाट पुर्ननिर्माण गरिने
2022/09/26, 1:03
 
ss

डडेल्धुरा- सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपिठका रुपमा रहेको विश्व सम्पदा सूचीमा सूचिकृत उग्रतारा मन्दिरको पुरातन शैलीमा पुर्ननिर्माण गरिने भएको छ ।  हाल सिमेन्टजन्य सामग्रीबाट निर्माण भएको उग्रतारा मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाइएपछि पुरातत्त्व विभागले सिमेन्टजन्य सबै सामग्री हटाई दिगो काठ तथा बलियो ढुङ्गा प्रयोग गरेर पुरानै स्वरूपमा पुर्ननिर्माण गर्न थालेको हो ।

उग्रतारा मन्दिरलाई आकर्षक रूपले पुरातन शैलीमा चालु आर्थिक वर्षमै पुर्ननिर्माणको काम सम्पन्न गर्न पुरातत्त्व विभागले काम अघि बढाएको छ । उग्रतारा मन्दिर पुर्ननिर्माण परियोजनाका प्रमुख हरिप्रसाद भुषालले चालु आर्थिक वर्षभित्रै मन्दिर पुर्ननिर्माणको काम सम्पन्न गरिने जानकारी दिए ।  उनले जिल्लास्थित सबै सरोकारवालाहरूसँग समन्वय बैठकको आयोजना गरेर उग्रतारा मन्दिरको पुर्ननिर्माण कार्य थालनीका लागि सुझाव माग गरिएको बताए ।

उग्रतारा मन्दिरको पुर्ननिर्माण र पुरातन शैलीका संरचना निर्माण गर्न पुरातत्त्व विभागबाट विनियोजित रकम कार्यान्वयनका लागि सर्वपक्षीय सहमति भइसकेको र अविलम्ब पुर्ननिर्माणको प्रकृया थालनी हुने उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराका अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिए ।   

निर्माण क्रममा निर्माणकर्ता पुरातत्त्व विभाग र निर्माण व्यवसायीलाई मन्दिरको आवश्यकता र परम्परानुसार संरचना निर्माण गर्न सहजीकरण तथा सहयोग र कार्यान्वयनका अवधिमा नाप नक्सा, लागत ईष्टिमेट बमोजिम काम भए नभएको जस्ता निर्माण कार्यका विविध पक्षमा अनुगमन तथा नियमन गर्न स्थानीय पुष्पराज भट्टको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।