बैतडीमा कांग्रेसले गठबन्धन नगर्ने, मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय
2022/09/27, 10:22
 
ss

धनगढी - बैतडीमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । अगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनलाई सकस भइरहेका बेला सोमबार बसेको जिल्ला कार्य समितिको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा आवद्ध अन्य दलले बैतडीमा प्रतिनिधिसभामा नेपाली कांग्रेसलाई सहयोग गर्नुपर्ने नभएको अवस्थामा मित्रवत प्रतिस्पर्धा गरेर चुनावमा जानने निर्णय गरिएको एक पदाधिकारीले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले पनि उक्त निर्र्णय भएको पुष्टि गरेका छन् । ‘हामीले प्रतिनिधिसभा सदस्यको टिकट नपाएकोमा अवस्थामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेका छौँ,’ सचिव जोशीले भने ।  जिल्ला कार्य समितिले लिएको निर्णयबारे पार्टीको केन्द्रिय कार्यसमिति र गठबन्धन कार्यदलका सदस्यलाई जानकारी गराइएको बताइएको छ ।