निर्वाचनः कैलाली ४ मा काङ्ग्रेसबाट बलायर, ५ मा पन्त, १ मा चौधरी
2022/09/28, 7:51
 
ss

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीमा सत्तारुढ पाँचदलीय गठबन्धनको भागबन्डा लगभग टुङ्गिएको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूलो उलटफेर भएमा बाहेक क्षेत्र १, ४ र ५ नेपाली काङ्ग्रेसको भागमा परेको छ । क्षेत्र २ र ३ माओवादी केन्द्रको भागमा छ ।

यससँगै काङ्ग्रेसबाट क्षेत्र ४, ५ र १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारको पनि लगभग टुङ्गो लागेको छ । यसअघि क्षेत्र ५ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेतृ आरजू राणा देउवाको एकल नाम सिफारिस भएकामा उनले समानुपातिक रोजेपछि वर्तमान प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई अगाडि सारिएको छ । 

काङ्ग्रेस कैलालीले उनलाई पुनः प्रदेशसभा सदस्य ९प्रत्यक्ष०मा नै सिफारिस गरिएको थियो । शीर्ष नेतृत्वले पन्तलाई क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने पक्का भएको बताइएको छ । पन्तले भने, ‘नेतृत्वबाट मलाई क्षेत्र नम्बर ५ बाट चुनाव लड्नका लागि तयार रहन स्पष्ट निर्देशन भइसकेको छ ।’ क्षेत्र ५ को प्रदेशसभा सदस्यमा भने क क्षेत्र माओवादी केन्द्र र खबाट काङ्ग्रेसको भागमा परेको बताइएको छ । ख क्षेत्रमा काङ्ग्रेसबाट प्रकाश देउवालाई उम्मेदवार बनाउने पनि लगभग ट्ङ्गो लागेको बताइएको छ । 

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले टिकट पाउने भएका छन् । उनले डोटीबाट सङ्घीय सांसदको प्रत्यक्षतर्फको उम्मेदवार बन्ने आकाङ्क्षा राखेको भए पनि अब उनी कैलाली ४ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । भागबन्डामा डोटी नेकपा  एकीकृत समाजवादीको भागमा परेको बताइएको छ । 

सभापति बलायरले बुधबार क्षेत्र नम्बर ४ का केही नेता–कार्यकर्तालाई फोन गरेर ‘पार्टीले कैलाली ४ बाट चुनाव लड्न तयार हुन भनेको’ जानकारी दिएको एक कार्यकर्ताले बताए ।   ‘मैले चाहेको भन्दा पनि पार्टीले जिम्मेवारी दिएकोले शीरोधार्य गरेको छु,’ बलायरले भने, ‘नयाँ क्षेत्रमा मलाई पार्टीले पठाए पनि मैले लामो समय बिताएको र काम गरेको यो मेरा लागि परिचित क्षेत्र नै हो । म त्यो क्षेत्रका अग्रज नेताहरुको मार्गदर्शनअनुसार नै अघि बढ्छु ।’

त्यस्तै, कैलाली १ मा काङ्ग्रेसबाट केन्द्रीय सदस्य रामजनम चौधरीको लगभग टुङ्गो लागेको छ । उनले भने, ‘क्षेत्र नम्बर १ मा मेरोबारे बालुवाटार ‘पोजिटिभ’ छ । क्षेत्र १ को प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको बताइन्छ । ख बाट वर्तमान प्रदेश सरकारका मन्त्री रणबहादुर रावललाई उम्मेदवार बनाउने लगभग ट्ङ्गो लागेको छ ।

माओवादी केन्द्रको भागमा कैलाली क्षेत्र २ र ३ परेको भए पनि अहिलेसम्म उम्मेदवारको भने टुङ्गो नलागेको केन्द्रीय सदस्य वीरभान चौधरीले बताए । उनले भने, ‘क्षेत्र २ र ३ माओवादी केन्द्रको भागमा परेको छ, उम्मेदवारबारे भने अझैं टुङ्गो लागेको छैन ।’