वर्षाले गाउँबाट फर्किन पाएनन् दसैं मनाउन गएकाहरू
2022/10/11, 12:32
 
ss

लगातारको वर्षाले दसैं मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन्। सुदूरपश्चिममा दसैंको दिनदेखि वर्षा भइरहेको छ। वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा  यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन्।

पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला–बेलामा अवरूद्ध भइरहेका छन्। राजमार्ग अवरूद्ध हुँदा दसैं मनाएर फर्किने यात्रु घण्टौंसम्म बाटोमै बस्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कर्मचारी, विद्यार्थीलाई कार्यालय र विद्यालय सञ्चालन भइसकेकाले दसैंको टीका लगाएर फर्किरहेका हुन्। 

बैतडीबाट आठ घण्टामा महेन्द्रनगर पुगिने भए पनि पहिराले ठाउँ–ठाउँमा सडक अवरूद्ध हुँदा १३ घण्टामा पुगिएको गोकर्ण विष्टले बताए। लगातारको वर्षाले कतिबेला पहिरो जाने हो भनेर चिन्तामा यात्रा गर्नुपरिरहेको हो। निरन्तरको वर्षाले ग्रामीण सडक पनि अवरूद्ध हुँदा दसैं मनाएर फर्किनेसमेत समस्यामा परेका छन्। राजमार्ग क्षेत्रमा पहिराको जोखिम र ग्रामीण सडक हिलाम्मे हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।

यस्तै, लगातारको वर्षाका कारण यात्रामा जोखिम हुने भन्दै धेरैजसो गाउँबाटै फर्किन पाएका छैनन्। बाटोमा सडक अवरूद्ध हुने समस्या र जोखिमपूर्ण यात्रा हुने भएकाले काठमाडौं जानबाट रोकिएको दोगडाकेदार–३ श्रीकोटका लोकेन्द्र नाथले बताए। बाटोमा गएर जोखिममा पर्नुभन्दा बरू एक–दुई दिन ढिला जाने तयारी गरेको भए पनि वर्षा नरोकिँदा यात्रा नै अनिश्चित बनेको उनको भनाइ छ। 

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने गरिएको भए पनि लगातारको वर्षाले पुनः अवरूद्ध हुने गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।  राजमार्ग क्षेत्रमा डोजर तयारी अवस्थामा राखिएका भए पनि ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले समस्या हुने गरेको उनको भनाइ छ।

सुदूर पहाडको जनजीवन पनि प्रभावित 

यसैबीच निरन्तरको वर्षाले सुदूरपहाडको जनजीवन प्रभावित बनेको छ। वर्षाले दैनिक कामकाज गर्न, विद्यालय जाने बालबालिका, दैनिक ज्याला मजदूरी गर्ने मजदूर, किसानलगायत सबै क्षेत्र प्रभावित बनेको छ।

वर्षाले विद्यार्थीको उपस्थिति पनि न्यून रहेकाले पठनपाठन कार्य पनि प्रभावित भएको दोगडाकेदार–७ स्थित भुमेश्वर माविका शिक्षक कृष्णसिंह विष्टले बताए।  वर्षाले जाडो पनि बढायो, यसले बालबालिका पनि उपस्थित कमै भएका विष्टको भनाइ छ।

पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरूद्ध छ। सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो।  पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार–३ श्रीकोटका दलजित विष्टले बताए।

खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताए। केही ठाउँमा काटेको खर कुहिन थालेको र  कुनै ठाउँका किसानले खर काट्न नपाउँदा  किसान चिन्तित भएका छन्।