कञ्चनपुरमा प्रदेश तथा प्रतिनिधि सभाका नौ सिटमा ८२ जना प्रतिस्पर्धी, कुन क्षेत्रमा को बलियो ?
2022/10/15, 11:54
 
कञ्चनपुरमा प्रदेश तथा प्रतिनिधि सभाका नौ सिटमा ८२ जना प्रतिस्पर्धी, कुन क्षेत्रमा को बलियो ?

कञ्चनपुर- कञ्चनपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभाका नौ पदका लागि ८२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। तीमध्ये स्वतन्त्र र विभिन्न पार्टीका बागी उम्मेदवार १८ जना छन्। कञ्चनपुरको क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि तीन जनाको स्वतन्त्र उम्मेदवारी छ। नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य खेम सुवेदी, नेपाली कांग्रेस निकट जगतबहादुर सायर र हरिनादेवी भट्ट रहेका छन्।

पार्टीका उम्मेदवारविरुद्ध बागी रहेका सुवेदीलाई नेकपा एमालेले पार्टीबाट निष्कासन गरिसकेको छ।सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका बिना मगर र नेकपा एमाले कञ्चनपुरका पूर्वअध्यक्ष तारा लामा तामाङसमेत चुनावी मैदानमा हुनुहुन्छ। क्षेत्र नं। १ को ‘क’ मा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारीको स्वत्रन्त्र उम्मेदवारी परेको छ। अधिकारीलाई पनि नेकपा एमालेले कारबाही गरेको छ। ‘क’ प्रदेशमा आठ जनाले प्रतिस्पर्र्धा गर्दै छन्।

जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बन्धु राना र नेकपा एमालेका पूर्वअध्यक्ष वीरबहादुर थापा पातलसमेत चुनावी मैदानमा छन्। यस्तै क्षेत्र नं १ को ‘ख’ मा नेकपा एमालेका जिल्ला कमिटी सदस्य टेकबहादुर साउद र नागरिक उन्मुक्ति पार्टी निकट नेत्रलाल चौधरीको स्वत्रन्त्र उम्मेदवारी परेको छ। सो प्रदेशमा पनि आठ जनाले प्रतिस्पर्र्धा गर्दै छन्। प्रदेश सभा ‘ख’ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य दिवानसिंह विष्ट र नेकपा एमालेका सचिव पल्लवराज भट्ट चुनावी मैदानमा रहेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।

यस्तै क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि १० जनाको उम्मेदवारी परेको छ। सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउद र पूर्वसांसद तथा एमालेका नेता नरबहादुर धामीसमेत प्रतिस्पर्र्धामा छन्। यसैगरी यस्तै क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का लागि नौ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेका तर्फबाट युवा सङ्घ नेपालका पूर्वअध्यक्ष बचनबहादुर सिंह र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ चुनावी मैदानमा छन्।यस्तै क्षेत्र नं. २ को ‘ख’ प्रदेश सभा सदस्यका लागि पनि नौ जनाबीच प्रतिस्पर्र्धा हुने भएको छ।

जसमा एमालेका तर्फबाट संविधान सभा सदस्य कृपाराम राना, नेकपा एकीकृत समाजवादीका तर्फबाट पूर्वप्रदेशमन्त्री लालबहादुर खड्का र गठबन्धनका तर्फबाट पूर्वसांसद बहादुरसिंह थापासमेत चुनावी मैदानमा छन्।यस्तै क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि १२ जना चुनावी मैदानमा छन्। जसमा गठबन्धनका तर्फबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र नेकपा एमालेका पोलिटब्युरो सदस्य, कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पालसमेत चुनावी प्रतिस्पर्धामा छन्। सो क्षेत्रमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवार बन्नेमा नेपाली कांग्रेस नजिकका दीपकबहादुर सिंह र शारदादेवी चन्द तथा दल नखुलेका मदन दमाई र सुभाषसिंह धामी रहेका छन्।

यसैगरी क्षेत्र नं. ३ को ‘क’ मा प्रदेश सभा सदस्यका लागि पनि ११ जनाबीच प्रतिस्पर्र्धा हुने भएको छ। जसमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकेन्द्रप्रसाद भट्ट, नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धर्मराज जोशी प्रतिस्पर्धी रहनुभएको छ। जोशी राप्रपा र एमालेको तालमेलका उम्मेदवार हुनुहुन्छ। सो क्षेत्रमा नेपाली कांग्रेस नजिकका तथा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वर्तमान अध्यक्ष पीताम्बर जोशी, नेकपा एकीकृत समाजवादी नजिकका नेता लोकविक्रम थापालगायत पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। यस्तै क्षेत्र नं ३ को ‘ख’ मा प्रदेश सभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ। जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता बेलबहादुर रानामगर, नेकपा एमालेका तर्फबाट अध्यक्ष तथा भीमदत्तका नगरपालिकाका पूर्वप्रमुख सुरेन्द्रबहादुर विष्ट, नेपाली कांग्रेस बीपीबाट धनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका तर्फबाट लक्ष्मण रोकाया र भीमबहादुर कुमाल स्वतन्त्र उम्मेदवार रहनुभएको छ।

कुन क्षेत्रमा को बलियो ?

निर्वाचन क्षेत्र १ बाट सत्तागठबन्धनले माओवादीकी विना मगरलाई उठाएको छ । पूर्वमन्त्री मगरको मुख्य प्रतिस्पर्धा एमालेका तारा लामा तामाङबीच हुने अनुमान गरिएको छ । गत स्थानीय तह निर्वाचनमा खसेको मतलाई आधार मान्दा पनि यिनै दुई दलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । यसअघि ०७४ को निर्वाचनमा प्रतिनिधिसभामा विना मगर र प्रदेशमा तारा लामा तामाङ उम्मेदवार थिए र दुवै विजयी पनि भए । तर, यसपटक यी दुई आमनेसामने छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले १८ हजार ६ सय ६३, एमालेले १८ हजार पाँच सय ९९, माओवादीले १५ हजार आठ सय ६१, एकीकृत समाजवादीले तीन हजार चार सय ९८, राप्रपाले दुई हजार एक सय र अन्यले चार हजार ६० मत पाएका थिए । 

निर्वाचन क्षेत्र २ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एनपी साउद र एमालेबाट निवर्तमान सांसद नरबहादुर धामी मुख्य प्रतिस्पर्धी छन् । ०७४ को निर्वाचनमा धामी माओवादी र एमालेको वामगठबन्धनबाट उम्मेदवार बनी निर्वाचित भएका थिए । ०७० मा कांग्रेस नेता साउदले एमाले नेता धामी र ०७४ मा एमाले नेता धामीले कांग्रेस नेता साउदलाई पराजित गरेका थिए । अघिल्लो प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा धामीले ३३ हजार दुई सय २० ल्याउँदा साउदले २४ हजार आठ सय ३९ मत पाएका थिए । 

गत स्थानीय तह निर्वाचनमा भने यो निर्वाचन क्षेत्रमा वडाहरूको मत जोड्दा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादीले १३ हजार चार सय ७८, समाजवादीले चार हजार ६ सय ६७, राप्रपाले ३ हजार सात सय ४६, अन्य दलले तीन हजार सात सय ८२ मत ल्याएका थिए ।

निर्वाचन क्षेत्र ३ मा सत्तागठबन्धनका तर्फबाट कांग्रेस नेता पूर्वमन्त्री रमेश लेखक उम्मेदवार छन् । यहाँ एमाले र राप्रपाको गठबन्धनबाट निवर्तमान सांसद निरुदेवी पाल उठेकी छिन् । यी दुईबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले–वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्टसँग कांग्रेसका उम्मेदवार लेखक जम्मा दुई सय ५७ मतले पराजित भएका थिए । यसपटक कांग्रेसले माओवादी र एकीकृत समाजवादीको साथ पाएको छ । एमालेले पनि राप्रपासँग तालमेल गरेको छ । 

गत वैशाखको स्थानीय तह निर्वाचनमा क्षेत्रमा पर्ने वडाहरूका प्राप्त मतअनुसार कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले २२ हजार ५८ मत पाउँदा एमालेले १५ हजार आठ सय १६, माओवादीले सात हजार आठ सय ८३, एकीकृत समाजवादीले दुई हजार पाँच सय, राप्रपाले ६ हजार दुई सय ८० र अन्य दलले दुई हजार चार सय मत ल्याएका थिए । गत स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा सत्तागठबन्धन बलियो देखिन्छ । बल जनताको कोर्टमा रहेकाले को विजयी हुनेछन् भन्ने यकिन भने अहिले नै गर्न सकिँदैन ।