शोकमा बझाङको मष्टा : ७ को मृत्यु, १८ घाइते
क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना
2022/10/20, 1:26
 
शोकमा बझाङको मष्टा : ७ को मृत्यु, १८ घाइते

बझाङ - क्षमताभन्दा बढी २५ जना सवार बोलेरो गाडी बुधबार बझाङको मस्टामा सडकबाट खस्दा ७ जनाको मृत्यु भएको छ । बाँकी १८ जना सबै घाइते छन् ।

मस्टा गाउँपालिकाको डुंग्रीबजारबाट खेतकोटतर्फ गइरहेको सुपप्र ०४००१ च ०११७ नम्बरको बोलेरो यात्रु भारले उकालो चढ्न नसक्दा उल्टै पछाडितर्फ गुड्दै सडकबाट करिब तीन सय मिटर तल खस्न पुगेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मस्टा–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १३ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिका कठायत छन् । सोही वडाका ३७ वर्षीय शिक्षक वीरेन्द्र अधिकारी र राष्ट्रिय वाणिज्य बैंक मस्टा शाखामा कार्यरत सुरक्षा गार्ड कञ्चनपुरको शुक्लाफाँटा–७ का ५० वर्षीय झरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।

गम्भीर घाइते मस्टा–१ की ५० वर्षीया सिन्कीदेवी भण्डारी, ६३ वर्षीय मणिबहादुर सिंह र मस्टा–२ का १० वर्षीय विशाल खड्कालाई थप उपचारका लागि डडेलधुरा रेफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । अरू १५ जनाको बझाङमै उपचार भइरहेको जिल्ला अस्पताल प्रमुख नवराज जोशीले बताए । दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न हेलिकोप्टर बोलाए पनि साँझ परेकाले आउन नसकेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान छ । ‘घटनास्थल निरीक्षण र घाइतेसँग बुझ्दा उकालो सडकमा जिप चढाउन खोज्दा लोड बढी भएर गाडी ब्याक भएको भन्ने कुरा आयो, ब्रेकले काम नगरेपछि खसेको देखिन्छ,’ प्रहरी निरीक्षक रमेश अवस्थीले भने ।