कञ्चनपुर २ मा गठबन्धनका एनपी
2022/10/22, 12:25
 
कञ्चनपुर २ मा गठबन्धनका एनपी

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर २ मा दुई प्रतिस्पर्धी निर्वाचनमा भिड्ने भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद र नेकपा एमालेका केन्द्रीय सदस्य नरबहादुर धामीबीच क्षेत्र नम्बर २ मा आसन्न निर्वाचनमा भिड्ने भएका हुन् । उनीहरु ०७४ को चुनावमा पनि क्षेत्र नं. २ मा भिडेका थिए। त्यसबेला नेकपा माओवादी केन्द्रको समर्थनमा एमालेका धामी ३३ हजार २२० मतसहित विजयी भएका थिए।

कांग्रेसका साउदले त्यसबेला २४ हजार ८९३ मत ल्याएका थिए। अहिले भने आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा राजनीतिक समिकरण फेरीएको छ। माओवादीले भने यसपटक कांग्रेससँग तालमेल गरेको छ। नेकपा एमालेबाट छुट्टिएको समाजबादीको पनि साथ साउँदलाई नै दिएको छ। सोझो राजनितिक समिकरणमा कसको पल्ला भारी हुनेछ भने चाँसो बढेको छ। अहिले उक्त क्षेत्रमा दुबै उम्मेदवारले घर दैलो गरीरहेका छन। ०७४ मा जितेका धामी दोहोरिने दाउसहित चुनावी मैदानमा छन्। साउद विगतको हारको बदला लिने योजनामा छन्।सोही क्षेत्रमा कांग्रेस–माओवादी गठबन्धनबाट प्रदेश सभा (१) मा माओवादीका ओमविक्रम भाट (सरल) र प्रदेश सभा (२) मा संविधानसभा सदस्य बहादुरसिंह थापा उम्मेदवार छन्।

प्रदेश सभाका उम्मेदवार भाटले गठबन्धनका सबै उम्मेदवारले जित्ने दाबी गरेका छन् । उनले यो क्षेत्रमा कांग्रेस माओबादीको मत राम्रै भएकाले अब अहिले गठबन्धन नै हुँदा त झनै राम्रो देखिएको बताए ।  यस्तै, नेकपा एमालेले प्रदेश सभा क्षेत्र नम्बर २(१) मा युवा संघका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र प्रदेश सभा २(२) मा संविधानसभा सदस्य कृपाराम रानालाई उतारेको छ।  छैटौँ पटक संसदीय चुनावमा उठेका साउद २०६४ र ०७४ को निर्बाचनमा पराजित भएका थिए । हारको बदला लिँदै तेस्रो पटक जितेर संसद पस्ने प्रयास गरिरहेका छन् साउद ।  कांग्रेसको मूल राजनीतिमा अहिले सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी पहिलो पटक ०५१ को चुनावमा साविक क्षेत्र नम्बर ३ मा एमालेका उर्वादत्त पन्तसँग पराजित भएका थिए।

०५६ मा साविक क्षेत्र नम्बर १ मा उठेका साउदले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गर्दै संसद पुगेका थिए। ०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका देवीलाल चौधरीसँग साउद साविक क्षेत्र नम्बर २ मा पराजित भए। त्यसपछि ०७० को दोस्रो संविधानसभा चुनावमा साउदले एमालेका तारालामा तामाङलाई हराए।  ०७४ मा साउद वाम गठबन्धनका साझा उम्मेदवार एमालेका धामीसँग पराजित भए। अहिलेसम्मका ५ निर्वाचनमध्ये साउदले ३ मा हार र २ मा जित निकालेका छन्। क्षेत्र नम्बर २ मा एमालेले जनताको पक्षमा काम गर्न सकेको छैन, त्यसैले विकास र समृद्धिका लागि यसपटक जनताले गठबन्धनलाई जिताउने कांग्रेस क्षेत्र नं. २ सभापति लालबहादुर सिंहले भने ।हामी  बलियो रहेको बताउँदै त्यसमाथि माओवादी रहेकोले भारी मतान्तरले जित्ने बताए । प्रदेश सभा १ (१) मा टिकट नपाएपछि एमालेबाट विद्रोह गर्दै टेकबहादुर हमालले बागी उम्मेदवारी दिएका छन्।क्षेत्र नम्बर २ मा स्थानीय तहको परिणामअनुसार सत्तागठबन्धन बलियो देखिन्छ।पार्टी विभाजनबाट गुज्रिरहेको एमालेलाई गठबन्धनविरुद्ध जित्न चुनौती र टिकटमा असन्तुष्टि जनाउँदै क्षेत्र नम्बर २ का कतिपय नेताले पार्टी छोडेका छन्।

नरबहादुर धामी कञ्चनपुरमा तेस्रो पटक संसदीय चुनाव लड्दैछन्। अहिलेसम्मका दुई चुनावमध्ये उनले एकमा जित निकालेका छन्, अर्को हार। पहिलो पटक ०७० मा संसदीय चुनाव फेस गरेका धामी तत्कालीन क्षेत्र नम्बर ३ मा कांग्रेसका बहादुरसिंह थापासँग पराजित भए।  त्यसपछि ०७४ मा पनि मौका पाएका धामीले क्षेत्र नम्बर २ मा माओवादीको समर्थनमा कांग्रेसका एनपी साउदलाई पराजित गरे। यो पटक पनि उनैलाई ठूलो रस्साकस्सीपछि एमालेले क्षेत्र नं.  २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। उनी ०७४ को विरासत कायम राख्दै फेरि संसद पस्ने दाउमा छन्। क्षेत्र नम्बर २ मा बेदकोट नगरपालिका (८ नम्बरबाहेक), शुक्लाफाँटा र कृष्णपुर नगरपालिकासहित ३० वडा छन्। स्थानीय चुनावमा एमाले, कांग्रेस एक्लाएक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर लडेका थिए। यहाँ कांग्रेस र माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धनसँग करिब ३० हजार मत छ।क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तीन स्थानीय तहमा कांग्रेसका प्रमुखका उम्मेदवार एक्लैले कूल २४ हजार ६७६ मत बटुलेका छन्।  एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीसँग पनि १० हजार हाराहारी मत छ।

३० वडामध्ये कांग्रेसले १५ वडा, माओवादीले ८, एमाले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको छ। कांग्रेसले २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोटका १, ३, ४, ५ र ७,  शुक्लाफाँटाका ४, ५, ६, ९, १० र ११ तथा कृष्णपुर नगरपालिकाका १, ५, ८ र ९ वडा जितेको छ। माओवादीले बेदकोटको वडा नम्बर ६, १०, शुक्लाफाँटाको ३, ८ र कृष्णपुरको २, ३, ४, ६ जितेको छ।  एमालेले बेदकोटको वडा नम्बर २, ९, शुक्लाफाँटाको १, २, ७ र कृष्णपुरको ७ जितेको छ। एकीकृत समाजवादीले शुक्लाफाँटा–१२ मा जितेको छ। अघिल्लो चुनाव ०७४ मा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए। प्रतिनिधि सभामा एमालेका धामीले जित निकाल्दा प्रदेश सभामा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भएका थिए। प्रदेश सभा २(१) मा माओवादी केन्द्रका महेशदत्त जोशी १७ हजार ६७२ मत सहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत ल्याएका थिए। यस्तै, प्रदेश सभा २(२)मा एमालेका तत्कालीन नेता लालबहादुर खड्का १६ हजार ३८५ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका बहादुरसिंह थापाले ११ हजार ८५१ मत ल्याएका थिए। सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्का एमाले विभाजनमा समाजवादीतिर लागेका थिए। उनी यसपटक पनि  प्रदेश सभा २(२) मा समाजवादीबाटै उम्मेदवार छन्।नेपाल खवर