भट्ट भन्छन्– मैले जितेको र देउवाले हारेको भए राष्ट्रको दुर्भाग्य हुने थियो
2022/10/23, 12:27
 
dd

 नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले तीनपटक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लडे । उनले ०६४, ०७० र ०७४ सालमा देउवाविरुद्ध डडेलधुरामा प्रतिस्पर्धा गरे । हारे । भट्ट अहिले देउवाले नै नेतृत्व गरेको सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका छन् ।

भट्टको घर डडेलधुराको प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा छ । तर, उनी प्रदेश ‘क’बाट उमेदवार छन् । उनी अहिले आफ्ना हरेक भाषणमा कांग्रेस र प्रधानमन्त्री देउवाको प्रशंसा गर्छन् । जिल्ला सदरमुकाम अमरगढीमा आयोजित गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा पनि भट्टले अधिकांश समय देउवाको चर्चा गरे । देउवासित तीनपटकको आफ्नो हार राष्ट्रका लागि उपयुक्त भएको उनले बताए ।

“त्यति बेला मैले जितेको भए र शेरबहादुरले हारेको भए यो राष्ट्रको दुर्भाग्यको सुरुवात हुने थियो,” भट्टले भने, “शेरबहादुरले जित्ने र मैले हार्ने कुरा वास्तवमा ठिक भएको रहेछ । उहाँले देश र संविधान बचाउनका लागि असाधारण र अविस्मरणीय भूमिका खेल्नुभएको छ ।”

उनले अहिलेको सत्ता गठबन्धन ‘राजनेता’बाट बनाइएको जिकिर गरे । “राजनीतिको जहाजलाई कुशलतापूर्वक डुलाएर गन्तव्यमा पुर्‍याउने राजनेता हो,” उनले भने, “यो गठबन्धन त्यस्तै राजनेताबाट बनाइएको हो । ती नेताहरूले देशलाई पटक–पटक ठूलो संकटबाट बचाएका छन् ।” माओवादी केन्द्रका नेता उनले कांग्रेस धेरै लामो र पाको इतिहास भएको पार्टी रहेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले सातौँपटक चुनावी मैदानमा रहेका देउवाले सबैभन्दा बढी मतान्तरले जित्ने निश्चित भएको जिकिर गरे । “डडेल्धुराबाट प्रधानमन्त्रीज्यू देशभरिमै सबैभन्दा बढी मतान्तरले जित्नुहुन्छ,” साउदले भने ।

प्रधानमन्त्री देउवाले डडेलधुराका लागि मात्र नभई देशकै लागि ठूलो योगदान गरेको उनको भनाइ थियो । “उहाँको राजनेताकै छवि स्थापित भएको छ,” उनले भने, “उहाँको विपक्षमा बलियो कुनै पनि राष्ट्रिय राजनीतिक पार्टीले उमेदवारी दिनुभएको छैन । केही साना पार्टी, नयाँ खुलेका पार्टी र स्वतन्त्रले मात्रै उमेदवारी दिनुभएको छ । उहाँ सबै दलबाट स्वीकृतिप्राप्त हुनुहुन्छ ।”