सुदूरपश्चिमका चारै जना ग्रीन जोनमा, २ जनालाई बागीको ‘टेन्सन’
2022/10/25, 11:35
 
ss

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र छन् । तीमध्ये माओवादी केन्द्रले सत्तारुढ गठबन्धनबाट ४ क्षेत्रमा उम्मेदवारी दिएको छ । कञ्चनपुर–१ बाट वीना मगर माओवादी केन्द्रबाट उम्मेदवार छिन् । उनी गठबन्धनबाट साझा उम्मेदवार भएकाले कांग्रेस, एकीकृत समाजवादी लगायत दलले साथ दिएका छन् ।

एमालेबाट तारा लामाले उम्मेदवारी दिएका छन् । उनलाई राप्रपाले साथ दिएको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।यस क्षेत्रमा पुनर्वास नगरपालिका, बेलैरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका पर्छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतका आधारमा एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, एकीकृत समाजवादीको ३ हजार ५२१, राप्रपाको २ हजार ६९२ मत छ ।

यस्तै, कैलाली–२ बाट भगतबहादुर बडुवाल र कैलाली–३ बाट कृष्णकुमार चौधरीले उम्मेदवारी दिएका छन् । एमालेबाट कैलाली २ बाट झपटबहादुर रावल र कैलाली ३ बाट गौरीशंकर चौधरीले उम्मेदवारी दिएका छन् ।कैलाली २ क्षेत्र अन्तर्गत जानकी नगरपालिकाका २, ५, ८, ९ वडा, मोहन्याल गाउँपालिका अन्तर्गत १ देखि ७ वडा पर्छन् । यस्तै लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिका पनि यसै क्षेत्रमा पर्छन् । कैलाली–२ मा गठबन्धनको उम्मेदवार बडुवालको विरुद्ध कांग्रेसका नविन बोहराले बागी उम्मेदवारी दिएकाले चुनौती थपिएको छ । यस क्षेत्र अन्तर्गत वडा अध्यक्षको मत परिणामअनुसार एमालेको १७ हजार ८३४, कांग्रेसको १३ हजार ८२०, माओवादीको ८ हजार ७२४, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४३, राप्रपाको २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीको २ हजार ३०६ मत देखिन्छ ।


यस्तै कैलाली–३ मा भजनी नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ७, ८ वडा, कैलारी गाउँपालिका अन्तर्गत १ देखि ८ वडा, घोडाघोडी नगरपालिका पर्दछ । कैलाली ३ का माओवादीका कृष्णकुमार चौधरी र एमालेका गौरीशंकर चौधरी दुवै पूर्व सहकर्मी भएकाले उनीहरुको भिडन्त रोचक हुने अनुमान गरिएको छ । यस क्षेत्र अन्तर्गत वडा अध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको १९ हजार ९९२, माओवादीको ११ हजार ७१६, एमालेको ११ हजार २५७, राप्रपाको ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४७, जसपाको २ हजार ८५९ र नेकपा एकीकृत समाजवादीको एक हजार ९७८ मत छ ।

यस्तै बैतडीबाट प्रतिनिधिसभा अन्तर्गत गठबन्धनबाट माओवादीका नरेन्द्रबहादुर कुँवर र एमालेबाट दामोदर भण्डारीले उम्मेदवारी दिएका छन् । माओवादीका कुँवर विरुद्ध कांग्रेसका केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् । बैतडीका १० स्थानीय तहका वडा अध्यक्षको मत केलाउँदा एमालेका भण्डारी भन्दा माओवादीका कुँवरको पल्ला भारी देखिएको छ । यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४०, राप्रपाको २ हजार ४ मत छ ।