कैलाली-५ मा स्वतन्त्र उम्मेदवार चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले गर्‍यो समर्थन
2022/11/02, 1:25
 
कैलाली-५ मा स्वतन्त्र उम्मेदवार चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले गर्‍यो समर्थन

धनगढी। कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ । सो क्षेत्रमा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको हो।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले बताए । प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीको उम्मेदवारी कायम छ । प्रदेशसभा १ मा श्रीराम चौधरी र प्रदेशसभा २ मा गोठुराम चौधरीले उम्मेदवारी दिएका छन् । उनले आधिकारिक उम्मेदवार लक्ष्मण चौधरीको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए।

चौधरीको उम्मेदवारी खारेज गरिएपछि पार्टीले आधिकारीक रुपमा निर्णय गर्दै स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गर्ने भएको उनले बताए । टीकापुर घटनामा उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेपछि फरार भएका लक्ष्मणले वारेसमार्फत नागरिक उन्मुक्ती पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए । तर उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। लक्ष्मण २०७४ सालको निर्वाचनमा समेत कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। उन्मुक्ति पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार जगदिश त्यो बेला उनको प्रचारप्रसारमा सक्रिय रहेका थिए।