निर्वाचनका लागि झण्डै १७ सय जनशक्ति परिचालन गरिँदै 
2022/11/06, 1:12
 
ss

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बैतडीमा सुरक्षाकर्मी बाहेक झण्डै १ हजार ७ सय जनशक्ति परिचालन गर्ने तयारी भएको छ ।

मतदान केन्द्रमा रहेका मतदाता संख्याको आधारमा १ हजार ६८४ जना निर्वाचनका लागि जनशक्ति खटाइने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी १ हजार ६८४ जनशक्ति परिचालन गरिने भएको फुँयालले बताए । 

जिल्लामा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ ।  पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी, तीन जना स्वयंसेवक र १ जना कार्यालय सहयोगी खटिने छन् ।

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी, चार जना स्वयंसेवक र एक जना कार्यालय सहयोगी खटिने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए ।  जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटिने छन् । बैतडीमा १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन् ।