प्रधानमन्त्री भए ओलीले संविधान च्यात्छन्ः बलायर
2022/11/06, 1:15
 
ss

सत्तारुढ गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बीरबहादुर बलायरले नेकपा एमालेले चुनाव जितेर केपी ओली प्रधानमन्त्री भए उनले संविधान च्यात्ने बताएका छन् । गोदावरी–७, लालपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भए ओलीले संविधान च्यातेर मुलुकलाई अधिनायकवादतिर लैजाने दावी गरे ।

‘ओली प्रधानमन्त्री भए संविधान च्यातिन्छ । त्यसको परिणाम गम्भीर हुन्छ । देश रहने नरहने अवस्था हुन्छ । त्यसैले गठबन्धनलाई जिताउन आवश्यक छ ।’ काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति समेत रहेका बलायरले भने, ‘ओलीको हातमा मुलुक परे तीन महिनामा जनताको बिच्ची पर्नेछ ।’ ओली प्रधानमन्त्री भएका बेला मुलुकको इतिहासकै सबैभन्दा बढी भ्रष्टाचार भएको बलायरले आरोप लगाए ।

कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्री खरिदमा नक्कली कम्पनी खडा गरेर ओली नेतृत्वको सरकारले १० अर्ब भ्रष्टाचार गरेको बलायरको आरोप छ । कोरोनाले नागरिक पीडामा रहेका बेला ओलीको सरकारले कुनै राहत दिन नसकेको उनले बताए । ‘कर्णालीवारी ओलीको पालामा कुनै पनि आयोजना बनेनन् । यो देशमा सरकार छ भन्ने महसुस गराउन सकेनन् ।’ बलायरले भने । अहिले एमालेका उम्मेदवार रहेका लेखराज भट्ट मन्त्री भएर पनि यस क्षेत्रका नागरिकलाई त्यसको महसुस गराउन नसकेको बलायरको आरोप छ । ओलीको अधिनायकवादका विरुद्ध गठबन्धनको आवश्यकता बनेको उनले बताए । 

बलायरले आफू निर्वाचित भए गठबन्धनमा रहेका दल, नेता र कार्यकर्ताको चोट नपुग्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । ‘भोलि गठबन्धन नरहला तर यो पार्टीको, उ पार्टीको भनेर कसैलाई चोट पु¥याएर काम गर्ने छैन ।’ उनले भने, ‘इमान्दारितापूर्वक काम गर्नेछु । व्यक्तिगत स्वार्थमा हामी राज्यस्रोतको दुरुपयोग गर्ने छैनौँ ।’ ओलीको अधिनायकवाद विरुद्ध गठबन्धन आवश्यक रहेको बलायरले बताए । गठबन्धनले नै अब मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने भएकाले गठबन्धनलाई विजयी गराउन उनले मतदातालाई आग्रह गरे ।