कैलाली–१ मा पूराना नेतालाई रेशम पत्नी श्रेष्ठको टक्कर
2022/11/06, 2:05
 
ss

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २०४८ सालदेखि संसदीय चुनाव लड्दै आएका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी, टीकापुर नगरपालिकाका पूर्व मेयर तपेन्द्र रावल र नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरमबाट गरेर पाँच पटक चुनाव जितिसकेका चौधरी २०७४ को निर्वाचनमा पहिलो पटक पराजीत भए भने रावल नेकपा एमालेबाट २०७४ को चुनावमा टीकापुर नगरपालिकाको मेयर भइसकेका व्यक्ति हुन् । दुई जना पूराना नेतालाई टक्कर दिने रेशम चौधरीले कारागारबाट गठन गरेको नागरिक उन्मुक्ती पार्टीकी रञ्जिता श्रेष्ठ मैदानमा छिन् । कैलाली–१ का लागि उनी नयाँ अनुहार हुन् ।

दुवै जना पाका नेतालाई पछि पार्दै प्रतिनिधिसभाको यात्रा तय गर्ने दाउमा रहेकी श्रेष्ठ चुनाव जित्नेमा आशावादी र ढुक्क रहेको बताउँछिन् । ‘मेरा दुई जना प्रतिद्धन्द्धी भन्दा स्वभाविक रुपले नयाँ उम्मेदवार हो । म नयाँ भएपनि हाम्रो एजेन्डामाथि मतदाताले विश्वास गरेका छन् भन्ने लागेको छ, श्रेष्ठले भनिन्, ‘हामी पहिचान, सुशासन र समृद्धिका पक्षधर भएको जित सुनिश्चित छ ।’ रेशम चौधरीले गत पुषमा डिल्लीबजार कारागारबाट गठन गरेको नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष पत्नी श्रेष्ठलाई बनाएका थिए ।

टीकापुर घटनामा जन्म कैदको सजाय पाएका चौधरीले २०७४ सालको चुनाव भूमिगत अवस्थामै जितेका थिए तर उनले सांसदका रुपमा काम भने गर्न पाएनन् । ३० बैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा रेशम पत्नी श्रेष्ठकै नेतृत्वमा चुनावमा गएको उन्मुक्ती पार्टीले कैलालीका चार पालिका जितेका छ ।

उसले जितेका टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका निर्वाचन क्षेत्र नम्बर १ मा पर्छन् । अगामी मंसिर ४ को संसदीय चुनाव जित्ने मुख्य आधार स्थानीय तहको नतिजा, टीकापुर घटनापछि रेशम चौधरीप्रतीको सद्भाव, थारु बाहुल्य क्षेत्र लगायत भएको नेताहरु बताउँछन् ।

कुल एक लाख छ हजार ७०३ मतदाता रहेको यो क्षेत्रमा उन्मुक्ति पार्टीका वडाध्यक्षले सबैभन्दा बढी १७ हजार १९३ मत पाएका छन् भने नेपाली कांग्रेसले ११ हजार ११९, एमालेले ९ हजार ९००,माओवादी केन्द्रले ६ हजार ९३०, राप्रपाले २ हजार ७९७, एकीकृत समाजवादीले २ हजार ३४३ र जसपाले एक हजार ८७४ मत छ ।