चुनावले भाडामा गाडी पाउन मुस्किल
2022/11/11, 6:11
 
ss

निर्वाचन प्रचारप्रसारमा निजी गाडीको प्रयोग भएपछि कैलालीमा भाडामा चारपाङ्ग्रे गाडी पाउन मुस्किल भएको छ ।  उम्मेदवार र दलहरुले अत्यधिक गाडी प्रयोग गरेपछि अन्यलाई भाडामा गाडी पाउन मुस्किल भएको हो । आउँदो मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा दलहरुले धेरै गाडी प्रयोग गरेका छन् । भाडामा दिइदै आएका निजी गाडीहरुलाई उम्मेदवार र दलले बुकिङ गरेर प्रचारप्रसारमा प्रयोग गर्न थालेपछि विभिन्न व्यक्तिलाई भाडाको गाडी पाउन मुस्किल भएको छ । 

अहिले भाडाको प्रायः सबै गाडीलाई दलहरुले प्रचारप्रसारका लागि प्रयोग गरिरहेको स्कोर्पियो गाडी भाडामा दिदैं आएका धनगढी उपमहानगरपालिका–१ एलएन चौकका व्यवसायी अर्जुन भाटले बताए । ‘एउटै पार्टीले १०÷१२ वटासम्म गाडी बुकिङ गरेर प्रचारप्रसारमा प्रयोग गरिरहेका छन्’, उनले भने,‘अहिले अरुले त गाडी पाउन मुस्किलै छ ।’ ठूला दलहरुले प्रचारप्रसारमा अझ बढी गाडी प्रयोग गरिरहेको भाटको भनाइ छ । 

भाडामा दिइने चार पाङ्ग्रे गाडीहरुलाई दलहरुले प्रचारप्रसारमा प्रयोग गर्न थालेपछि धनगढीका विभिन्न होटलमा आउने पाहुनालाई पनि भाडामा गाडी पाउन मुस्किल भइरहेको छ । होटलहरुका सम्पर्कमा रहेको धेरैजसो गाडीलाई दलहरुले प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । धनगढीको रुबस होटलका म्यानेजर जोधुराम चौधरीले भने,‘हामी कहाँ आएका पाहुनाले गाडी भाडामा माग गरेमा हामीले गाडी मालिकसंग सम्पर्क गराइ दिने गरेका छौं ।’