सीमा अपराध नियन्त्रण बनेन चुनावी मुद्दा
2022/11/11, 6:13
 
ss

सीमा क्षेत्रमा हुँदै आएको अपराध नियन्त्रणलाई राजनीतिक दलहरुले चुनावी मुद्दा बनाउन सकेका छैनन् । सामाजिक विकासका महत्वपूर्ण पक्षको रुपमा रहेको अपराध नियन्त्रणका कुरालाई दलहरुले बेवास्ता गर्दै आएका हुन । १०१ किलोमिटर नेपाल–भारत खुल्ला सिमाना रहेको कैलालीमा सीमा अपराध रोकिएको छैन । लुटपाट, तस्करी, लागुऔषध ओसारपसारका घटना घट्दै आएका छन् । 

तर, यस्ता घटनालाई निरुत्साहित गर्ने खालको कुरालाई दलहरुले आ–आफ्ना घोषणापत्रमा स्थान दिएको पाइदैन । घरदैलोको क्रममा पनि नेताहरुले सीमा अपराध नियन्त्रणका कुरालाई उठाएको अहिलेसम्म नसुनिएको सीमावर्ती क्षेत्र टीकापुर नगरपालिका–७ बैदीका भोजराज ढुङ्गानाले बताए । ‘अपराधलाई निरुत्साहित गर्ने भनेर चुनावको बेला नेतागणहरुले बोलेको अहिलेसम्म त सुनिएको छैन’, उनले भने,‘तर, केही पार्टीले लागुऔषध दुव्र्यसन नियन्त्रणका कुरालाई भने राखेको पाइएको छ ।’ 

जिल्लाको दक्षिणी क्षेत्र लागुऔषध ओसारपसारको लागि ‘ट्रान्जिट प्वाइन्ट’ नै मानिन्छ । खक्रौला, कालाकुण्डा, भजनी, लालबोझी, हसुलिया, फूलबारी, बङ्गरा, त्रिनगर लगायतका नाका भएर भारतबाट लागुऔषध ओसारपसार हुँदै आएको बताइन्छ ।   त्यति मात्रै हैन, तस्करीदेखि लिएर लुटपाट, चोरीको घटना पनि हुने गर्दछन् । भारतबाट नेपाल पस्ने चोरले स्थानीयका राँगो, गोरु, बाख्रा, बयलगाडासहित विभिन्न सामान पनि चोर्ने समस्या छ । स्थानीयले विगतदेखि भोग्दै आएका यस्ता समस्यालाई समाधानका लागि पहल कद्मी भूमिका निर्वाह गर्ने कुरा दलहरुबाट नआउने गरेको कैलारी गाउँपालिका–७ का बुझौना चौधरीले बताए ।