माधव नेपालको पार्टी खरानीको डल्लो हो, चुनावबाट समाप्त हुन्छन्: ओली
2022/11/13, 10:49
 
माधव नेपालको पार्टी खरानीको डल्लो हो, चुनावबाट समाप्त हुन्छन्: ओली

कैलालीः पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई खरानीको डल्लोको संज्ञा दिँदै चुनावपछि समाप्त हुने बताएका छन्। कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘एमालेलाई सिद्याउँछु भन्नेहरू प्रचण्ड, माधव नेपाललगायत विस्तारै आफैँ सिद्धिँदै गएका छन्,’ उनले भने, ‘माधव नेपाल त यही चुनावबाट समाप्तै हुन्छन्, माधव नेपालको पार्टी मैले अस्ति नै भनेको थिएँ, ‘खरानीको डल्लो’ पानीमा भिजाएर राखेको खरानीको डल्लो, पानी अलीकती सुकेपछि फासफुस। यो चुनावमा माधव नेपालले गरेका जनताको चाहना, विकासविरुद्ध र राष्ट्रिय चाहनाविरुद्धका अपराधको सजाय माधव नेपालले यस चुनावमा पाउँछन्।’

मङ्सिर ४ पछि एमालेको सरकार बन्ने ओलीको दाबी छ। ‘मङ्सिर ४ एमाले सरकार, जनताको आवाज हो अब जनताको सरकार अर्थात् एमालेको सरकार बन्यो, बन्यो कसैले रोक्न सक्दैन।’ उनले दाबी गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउँछु भनेर गरेको दाबी पुरा हुन नसक्ने भन्दै कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनमा ल्याइने र त्यो एमाले सरकारले ल्याउने समेत बताए। डडेल्धुरामा मेडिकल कलेजका लागि चाहिले जनशक्ति, जनसङ्ख्या र बिरामीको चाप समेत नरहेको ओलीले टिप्पणी गरे।

ओलीले आजै सुदूरपश्चिममा तीन चुनावी सभालाई सम्बोधन गरी कर्णाली प्रदेश फर्किएका छन्। अत्तरिया बाहेक उनले डोटीको दिपायल र कैलालीकै लम्की आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरी फर्किएका हुन्।