देउवाजीले डडेल्धुराका डाँडामा लाने भन्नुभयो, गेटा मेडिकल कलेज हामी चलाउँछौं: ओली
2022/11/13, 10:52
 
देउवाजीले डडेल्धुराका डाँडामा लाने भन्नुभयो, गेटा मेडिकल कलेज हामी चलाउँछौं: ओली

कैलाली। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताएका छन्। शनिबार कैलालीको अत्तरियामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै ‘यस ठाउँमा रहेको गेटा मेडिकल कलेजलाई विश्वविद्याल बनाएर सञ्चालनमा ल्याउने उनले बताएका हुन्।

उनले भने, सञ्चालनमा ल्याएर यही पढाइँ सुरु गर्छौ, शेरबहादुर देउवाजीले डडेल्धुराका डाँडामा विश्वविद्यालय लाने भन्नुभयो, डडेल्धुराका डाँडामा पछि लगौला, यहाँ संरचना बनेका छन्, यहाँ चलाउनु परेन उनले भने। डडेल्धुरामा सुविधा सम्पन्न अस्पताल निर्माण गरिने उनको भनाई छ। अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल यही चुनावबाट समाप्त हुने बताएका छन्।एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएका छन्, माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन्, उनले भने ।

‘माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन्। माधव नेपालको पार्टी खरानीको डल्लो हो।’२०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए। ‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोकटा खान गएको झोलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन’ ओलीले भने। अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरे। उनले माधव नेपालले कम्युनिस्ट पार्टी एकता, ‘सुखी नेपाली, समृद्ध नेपाल’ लगायतका विषयमा गरेको अपराधको सजाय यहि निर्वाचनबाट पाउने बताए। मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने उनको भनाई छ।