डोटीका २ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सबै महिला खटाइने
2022/11/17, 10:22
 
ss

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मंसिर ४ गते हुने निर्वाचनमा डोटीका दुई वटा मतदान केन्द्रमा महिलाले निर्वाचन गराउने भएका छन् । जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि एक सय ७८ मतदान केन्द्रमध्ये दुई केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण मावि केन्द्र र डोटी बहुमुखी क्याम्पसमा महिला कर्मचारी मात्रै खटाइएको छ । ‘दुवै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी पनि महिला खटाइएको छ’ पाण्डेयले भने ‘दुवै केन्द्रमा सुरक्षाकर्मी समेत सबै महिलाहरुनै खटाइएको छ ।’

पद्म मुक्तिनारायण माविको केन्द्रमा कृषि ज्ञान केन्द्रमा कार्यरत मनिशा गुरुङ्ग र डोटी क्याम्पसको मतदान केन्द्रमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रमा कुँवर मतदान अधिकृत छन् । यी दुई मतदान केन्द्रमा नमुनाको रुपमा महिलाहरु मात्रै खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।