गठबन्धन उम्मेदवारको जित निश्चित छः प्रकाश देउवा
2022/11/17, 10:31
 
ss

नेपाली कांग्रेसका नेता एवम् कैलालीको क्षेत्र नं ५ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश देउवाले गठबन्धनका सबै उम्मेदवारको जित निश्चित रहेको बताएका छन् ।

धनगढीमा बुधबार भएको युवा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । देउवाले निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्न आग्रह गरे । २०७४ को निर्वाचनमा भएका गल्तीहरुलाई सुधार गरेर सङ्घ र प्रदेश सबैतर्फ गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो ।

गठबन्धनका उम्मेदवारहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादीको साझा उम्मेदवार रहेकाले जित्ने लगभग निश्चित रहेको उनको भनाइ थियो । ‘त्यसैले जित्ने उम्मेदवारलाई नै भोट हाल्न म सबैलाई आग्रह गर्दछु’, उनले भने,‘गठबन्धनका सबै उम्मेदवारलाई जिताउन जरुरी छ ।’

उम्मेदवार देउवाले मङ्सिर ४ पछि सङ्घ र प्रदेश सबैमा गठबन्धनकै सरकार बन्ने बताए । उनले क्षेत्र नं ५ मा सबैभन्दा बलियो संगठन रहेको पार्टी नेपाली कांग्रेस रहेको भन्दै अगाडि थपे,‘जसको संगठन बलियो छ, चुनाव उसैले जित्ने हो । अझ हामीसंग गठबन्धन छ ।’ 

यो क्षेत्रबाट २०७४ को निर्वाचन जितेर एमालेले केही गर्न नसकेको देउवाको जिकिर थियो । त्यस्तै, स्वतन्त्र उम्मेदवार पनि आफ्नो लागि उठेको भन्दै उनले स्वतन्त्र जितेर केही गर्न नसक्ने बताए । ‘उहाँ स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसबाटै विभिन्न समय चुनाव जितेर विभिन्न पद्मा पनि पुग्नुभयो’, देउवाले अगाडि थपे,‘अहिले टिकट नपाएपछि स्वतन्त्र उठेको उहाँ जितेर पनि केही गर्न सक्नू हुन्न ।’ 

क्षेत्र नं ५ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यतर्फ डिल्लीराज पन्त र प्रदेश सभा सदस्यतर्फ क मा माओवादी केन्द्रका रमेश धामी र ख मा प्रकाश देउवा उम्मेदवार छन् ।