निर्वाचनको सुरक्षाका लागि बन्द भए सीमा, भारतबाट आएकालाई भने प्रवेश दिइँदै
2022/11/18, 5:46
 
dd

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिमका सीमा नाका बन्द गरिएको छ। बिहीवार राति १२ बजेबाट बन्द गरिएका नाका ७२ घण्टा अर्थात् मङ्सिर ४ गते राति १२ बजेसम्म बन्द रहनेछन्।

खुला सीमाबाट निर्वाचनको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सीमा बन्द गरिएको हो। भारतसँग खुला सीमा रहेकाले चुनौती भने कायमै छ। तथापि, सम्भावित घटना न्यूनीकरणका लागि संयुक्त रूपमा भारतीय सीमा सुरक्षा बल र सशस्त्र प्रहरीले दुई देशीय संयुक्त गस्ती गरिरहेका छन्।

तर, भारतबाट मतदानका लागि सीमा आइसकेका नागरिकलाई भने नेपाल प्रवेश दिइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले नेपाल आउने भनेर सीमामा आइसकेका नागरिकलाई भने आउन दिइएको जनाकारी दिए।

‘खुला सीमाको चुनौती कम गर्न दुई देशका तर्फबाट संयुक्त गस्ती भइरहेको छ’, उनले भने, ‘हामीले खुला सीमाको चुनौतीलाई ध्यानमा राखेर सकेसम्म चनाखो बनेर सुरक्षा सतर्कता बढाएका छौँ। भारतबाट घर आउने भनेर आइसकेकालाई आउन दिएका छौँ। अन्यथा अत्यावश्यक तथा स्वास्थ्य उपचारका लागि आउने जाने बाहेक अरूलाई मतदान हुने दिनको रातिसम्म बन्देज गरिएको छ।’

यसरी भारतबाट शुक्रवार मात्रै कैलालीको त्रिनगर गौरीफन्टा नाका हुँदै करिब २ सय बढी मानिस नेपाल आएका छन्। कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीका भारतसँग जोडीका तथा चीनसँगका नाकाहरू बन्द गरिएका हुन्।