दार्चुलाको छाङरु र तिंकरको मतदान सदरमुकाममा
2022/11/18, 5:51
 
ss

दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ। व्यासका बासिन्दा चिसोको समयमा खलंगा झर्ने भएकाले मतदान सदरमुकाममै गराउन लागिएको हो।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार अहिले चिसो छल्न अधिकांश छाङरु र तिंकरवासी जिल्ला सदरमुकाम झरिसकेकाले उनीहरूलाई खलंगाबाटै मतदानको व्यवस्था गरिएको हो । मतदाताकै आग्रहमा उनीहरूलाई सदरमुकामै मतदान गर्ने व्यवस्था गरिएको उनले बताए। 

‘वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर सर्वदलीय सहमतिमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको हो’, उनले भने।

छाङरुको मतदान केन्द्रमा ३८३ र तिंकरको केन्द्रमा २३४ जना मतदाता छन्। तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालयमा र छाङरुका मतदाताले कैलाशपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए।