डोटीमा निर्वाचनको कडा सुरक्षा प्रबन्ध, २ हजार ४७२ सुरक्षाकर्मी खटिए
2022/11/19, 2:30
 
ss

डोटीमा भोलि हुने संसदीय र्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि १७८ वटै मतदान केन्द्रमा कर्मचारीहरु र निर्वाचन सामग्री पुगिसकेको कार्यालयले जनाएको हो।

‘एक गते नै सबै मतदान केन्द्रमा कर्मचारीहरुको टोली पुगिसकेको छ,’ मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले भने, ‘उहाँहरुले निर्वाचनसंग सम्वन्धित कार्यहरु सुरु गरिसक्नु भएको छ।’ आज मतदान केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको उनले बताए।

मतदान केन्द्र निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने, मतदाताहरुलाई विश्रामगर्न मिल्ने गरि निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिईएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए। डोटी जिल्लामा एक सय १५ मतदान स्थलहरुमा १७७ मतदान केन्द्र रहेका छन्। कारागारका कैदीबन्दी र सरकारी कर्मचारीहरुले मतदान गर्न पाउने गरि कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको छ। अस्थायी मतदान केन्द्रमा करिब तीन सय अस्थायी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत पाण्डेय बताउँछन्।

उनले नेपाली सेना, सशस्त्र प्रहरी र दिपायल क्षेत्रमा रहेका सरकारी कर्मचारीका लागि दिपायल राजपुरमा रहेको सु९जङ्ग मतदान केन्द्र मतदान गर्ने व्यवस्था मिलाइएको बताए। यस्तै, तालिम केन्द्रमा रहेका प्रहरी कर्मचारीहरुका लागि दिल्पेश्वर मतदान केन्द्रमा व्यवस्था गरिएको समेत पाण्डेयले जानकारी दिए।

निर्वाचनका लागि तीनवटै सुरक्षा निकायका गरि २४७२ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। निर्वाचनको लागि कडा सुरक्षा प्रबन्ध मिलाइएकोले मतदाताहरुले ढुक्क भएर मतदान गर्न श्रेष्ठले आग्रह गरिन्। डोटी जिल्लामा ६५ हजार ७३५ महिला र ५९ हजार १३५ पुरुष गरि एक लाख २४ हजार आठ सय ७० मतदाता रहेका छन्।