मत हाल्नका लागि आतुर छौंः मतदाता
2022/11/19, 2:49
 
ss

कैलालीका मतदाता भोट हाल्नका लागि आतुर छन् । आफ्नो जनप्रतिनिधि आफै चयनका लागि मतदाता आतुर भएका हुन ।‘आफूलाई मन पर्ने र सक्षम व्यक्तिलाई जिताएर पठाउने यहि मौका हो । यो मौकालाई कुनै हालतमा खेर फाल्दिन’, धनगढी बस्दै आएकी फूलकुमारी चौधरीले बताइन् । सक्षम र मन पर्ने जनप्रतिनिधि चयनका लागि भोट हाल्न आतुर रहेको चौधरीको भनाइ छ । ‘बाबुको स्कुल बिदा र मङ्सिर ४ पर्खेर बसिरहेकी छु’, उनले भनिन् । उनले आफू क्षेत्र नम्बर ३ को मतदाता रहेको बताइन् ।

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आवधिक निर्वाचन हो । लोकतन्त्रलाई सुदृढ, मजबुत र सवल बनाउनका लागि मुलुकमा पाँच÷पाँच वर्षको अन्तरालमा आम निर्वाचन हुँदै आएको छ । निर्वाचनले मुलुकको भविष्यसमेत निर्धारण गर्ने गरेकाले सबैले आ–आफ्नो मताधिकार प्रयोग गर्न आवश्यक रहेको धनगढी उपमहानगरपालिका–९ की शान्ति जोशीले बताइन् ।  ‘कोही कसैको दबाब र प्रभावमा नपरेर आफूलाई सक्षम लागेको उम्मेदवारलाई ड्याङ की ड्याङ भोट हाल्नुपर्छ’, उनले भनिन्,‘मताधिकार नैसर्गिक अधिकार हो । त्यसैले, अब मतदान हुने दिन पर्खिरहेकी छु ।’

निर्वाचन हुने दिन पर्खिरहेकी जोशीको नेतासंग भने गुनासो छ । विगतमा विभिन्न आश्वसन बाँडेका नेताहरुले खासै केही गरेको जस्तो लागेको छैन, उनलाई । उनी भन्छिन्,‘काम गर्न नसकेका कारणले होला सायद, यस पटक हाम्रो टोल, घरमा आएर भोट माग्ने आँट गरेनन् । एकरदुई जनाबाहेक भोट माग्नका लागि अरु नेताहरु आएको मैले त देखिन ।’

यो निर्वाचन जनताले मतको माध्यमबाट आफ्नो भविष्य आफै निर्धारण गर्ने अवसर पनि हो । त्यसैले भोट हाल्नका लागि उनीहरु आतुर देखिएका छन् । विगतमा जिताएका व्यक्तिहरुसंग थुप्रै गुनासाहरु रहे पनि मताधिकार प्रयोगका लागि भने मतदान हुने दिनको व्यग्र प्रतिक्षा गरिरहेका छन्, मतदाता । ‘राम्रो तथा काम गर्ने व्यक्तिलाई चुनेर पठाउने र काम गर्न नसकेकाहरुलाई सुधारका लागि पाठ सिकाउने मौका पाँच वर्षपछि आएको छ’, धनगढी उपमहानगरपालिका–८ का भगत राना थारुले भने,‘हाम्रो यहाँ खासै गतिलो उम्मेदवार त कोही पनि छैनन् । तैपनि, कोही एक न एकलाई त भोट दिनै पर्छ ।’ 

चुनावको बेला हातजोड्दै मत माग्न आउने नेताहरु जितेर गएपछि मतदाताको समस्या फर्केर पनि बुझ्न नआउने गरेको उनको गुनासो छ । ‘एकै चोटी फेरि भोट माग्नमात्रै आउँछन्’, रानाले भने,‘यस्ता नेताहरुलाई हामीले पाठ सिकाउनु पर्दछ ।’  पाँच वर्षछि आएको निर्वाचन कानून, नीति, नियम निर्माणका लागि सक्षम व्यक्तिलाई संसद्मा पठाउने मौका रहेको धनगढी उपमहानगरपालिका–१ का पवन कोली बताउँछन् । ‘त्यसैले हामीले सोंच विचार गरेर भोट हाल्नु पर्दछ’, उनले भने,‘नीति, नियम बनाउने ठाउँमा गलत व्यक्तिलाई पठायौं भने हामीलाई नै दुःख हुन्छ ।’ 

कैलालीमा पाँच लाख ३५ हजार ५१४ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । जसमध्ये महिला दुई लाख ७३ हजार ८८३, पुरुष दुई लाख ६१ हजार ६२० र ११ जना तेस्रो लिङ्गी रहेका छन् ।  क्षेत्र नं १ मा एक लाख छ हजार ७०३, २ मा एक लाख चार हजार ९०६, ३ मा एक लाख सात हजार ६५९ जना मतदाता छन् । यसैगरी, क्षेत्र नं। ४ मा एक लाख १० हजार ४५३ र ५ मा एक लाख ५७ पाँच हजार ७९३ जना मतदाता रहेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । कैलालीमा प्रतिनिधि सभा सदस्यका पाँच सिटका लागि ४८ जना र प्रदेश सभाका १० वटा सिटका लागि ७८ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।