कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम निर्वाचित, को हुन् गंगाराम ?
2022/11/22, 6:19
 
ss

कैलाली निर्वाचन क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आफ्नो निकटतम् प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी ९कुन्दन०लाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । 

गंगारामले २३ हजार १२० मत प्राप्त गरेका छन् भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए । नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मतका साथ तेस्रो स्थानमा रहे । एक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचित भएपछि गंगारामले थारु समुदायमाथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासका लागि लड्ने प्रतिवद्धता जनाएका छन् । थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उनले भने, ‘हामी न्यायका लागि चुनावमा होमिएका थियौं । टीकापुर राजबन्दी रिहाइका लागि हो । दोस्रो एजेन्डा विकास र समृद्धि हो ।’ 

राज्यले न्याय नगरे पनि आमजनताले आफूहरुलाई न्याय गरेको उनले बताए । ‘आमजनताप्रति हामी आभारी छौं । अब सिंगो हाम्रो पार्टी र मेरो प्रमुख अभिभारा टीकापुर घटनासँग सम्बन्धित लाल आयोगसहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । टीकापुर राजबन्दी रिहाइको लागि सरकारलाई दवाव दिनु प्रमुख एजेण्डा हो । यतिमात्रै होइन, राजनीतिक अधिकार प्राप्तिको लागि पनि हामी चुक्ने छैनौं ।’

उनले आफ्नो निर्वाचन क्षेत्र बाढी प्रभावित क्षेत्र रहेको बताउँदै अब लगत्तै आफूले यहाँका समस्या र सम्भावनाबारे आमनागरिकसँग सुझाव संकलन गर्ने र त्यसको आधारमा पाँच वर्षे गुरुयोजना बनाइ काम गर्ने बताए । उनले भने, ‘मेरो गाउँ नै प्रत्येक वर्षको बाढीले डुबानमा पर्छ । म आफै पीडित र भुक्तभोगी हुँ ।’ यहाँका किसान, मुक्तकमैया, लोपोन्मुख जाति, समुदाय लगायको उत्थानको लागि पनि काम गर्ने उनको भनाइ छ ।

को हुन् गंगाराम चौधरी ?
कैलालीको भजनी नगरपालिका–२ मोहनपुरमा बुबा फुलराम डंगौरा थारु र आमा राजदेवी डंगौरा थरुनीको कोखबाट जन्मिएका ४४ वर्षीय गंगा चौधरी राजनीतिमा भने २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिँदै आएका छन् । 

उसो त २०७४ को निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा उनी आबद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउन उनले अहम भूमिका खेलेका थिए ।  २०७४ को निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम् भूमिका खेल्दै हाल उनी नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।

२०७४ को निर्वाचन अभियान सम्झिँदै चौधरी भने, ‘२०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । २०७४ को निर्वाचनमा रेशम जिताउ अभियान चलायौंं । प्रवासमा रहेका रेशम दाइकोे भिडियो बनाइ निर्वाचन क्षेत्रमा प्रोजेक्टरमार्फत प्रचार प्रसार गरियो । यहाँसम्म कि मधेशवादी दलले हाम्रो मुद्दालाई सत्ताको भर्‍याङ बनाएपछि पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाव दिनेमा म नै हो ।’

निम्न परिवारमा जन्मिएका उनले पाठ्यक्रम विषयमा स्नातकोत्तरसम्म गरेका छन् । उनको गैरसरकारी संस्थामा २२ वर्ष कार्य अनुभव छ ।