बैतडीमा युवती हत्या प्रकरण: अनुसन्धानका लागि धनगढीबाट पनि खटियो प्रहरी टोली
2022/12/01, 12:09
 
dd

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धानका लागि धनगढीबाट पनि प्रहरी टोली खटाइएको छ । बुधबार साँझ शिवनाथ गाउँपालिका–६ मालुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भोलाबहादुर रावलले अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक नेतृत्वको टोली बैतडी पठाइएको जानकारी दिए । एसएसपी रावलले घटनाको अनुसन्धान सफलतातर्फ उन्मुख भएको पनि बताएका छन् ।

मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन् । नेहा पनि घाँटी रेटिएको अवस्थामा भेटिएकी छन् । गम्भीर अवस्थाकी उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक माया म्यादी प्रहरी पनि भएको खुलेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिए पछि उनी घर फर्किएकी थिइन् । मायाको हत्यामा सशस्त्र प्रहरीमा कार्यरत एक युवकको संलग्न रहेको हुन सक्ने प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । उनी हाल फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

ती प्रहरी जवानको परिचय भने गोप्य राखिएको छ । अनुसन्धानपछि मात्र थप कुरा खुल्ने बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रेमबहादुर शाहीले बताए ।