म्यादी प्रहरी थिइन् घाँटी रेटेर हत्या गरिएकी माया, सशस्त्र जवान संलग्न !
2022/12/01, 6:19
 
aa

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्नको पहिचान भएको प्रहरीले जनाएको छ । “बुधबार घाँटी रेटेर हत्या गरेको अवस्थामा माया मृत फेला परेकी थिइन्,” सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी मोहनराज आचार्यले भने, “हत्यामा संलग्नको पहिचान भइसकेको छ । अहिले उनी फरार छन् । छिट्टै प्रहरीको नियन्त्रणमा हुन्छन् ।”

डीआइजी आचार्यका अनुसार हत्या आरोपित सशस्त्र प्रहरीका जवान हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान हत्यामा संलग्न रहेको तथ्य खुलेको हो । उनलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी खटाइएको छ । भारत भाग्न सक्ने आशंकामा महाकाली नदीको तटीय क्षेत्रमा पनि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

प्रहरीका अनुसार मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो । उनकै बयानका आधारमा सशस्त्र प्रहरी जवानमाथि आशंका बढेको हो ।

माया र नेहा गएको मंगलबार बिहान करिब १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन भनी गएका थिए । तर, सशस्त्र प्रहरी जवानसँग भेटघाट गर्न उनीहरू शिवनाथ पुगेको खुल्न आएको प्रहरी अधिकारी बताउँछन् ।  लुगा सिलाउन भनेर हिँडेकी उनी घर नफर्किएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । खोजी गर्दै जाँदा बुधबार बेलुका माया मृत अवस्थामा फेला परेकी थिइन् । नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । 

माया यही मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । माया र आरोपित सशस्त्र जवानबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको आशंका छ ।