सुदूरपश्चिमका पराजित निवर्तमान जनप्रतिनिधि
2022/12/08, 4:29
 
ss

बाजुरा प्रदेश क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यको दौडमा रहेका नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा सत्ता गठबन्धन उम्मेदवारसंग पराजित भए । २०७४ सालमा प्रतिनिधि सभा सदस्य भईसकेका थापा नेपाली काँग्रेसका उम्मेदवार पदमबहादुर शाहीसंग पराजित भए । 

शाहीले २० हजार एक सय ९१ मत प्राप्त गर्दै प्रदेश सभा सदस्य बनेका छन् भने प्रतिनिधिबाट प्रदेश सदस्यको दौडमा रहेका थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरे । थापा २०७४ सालको प्रतिनिधि निर्वाचनमा २८ हजार ६५ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्य बनेका थिए ।  उनी एमाले पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्जसमेत हुन् । 

सुदू्रपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट पराजित भए । सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रहेका उनी पराजित भएपछि पनि सरकारमै छन् । मन्त्री रावल तीन हजार दुई सय ६५ मतले मंसिर ४ गते भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण किशोर चौधरीसंग पराजित भएका हुन । चौधरीले ११ हजार तीन सय १८ मत प्राप्त गरे भने मन्त्री रावलले आठ हजार ५३ मत प्राप्त गरेका छन् ।

प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहरा डडेल्धुरा प्रदेश २ मा प्रदेश सभा सदस्यमा पराजित भए । सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रहेका बोहरा स्वतन्त्र उम्मेदवार तारा प्रसाद जोशीसंग पराजित भए । मन्त्री बोहराले १० हजार तीन सय ३७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार एक सय ६२ मत प्राप्त गर्दै प्रदेश सभामा निर्वाचित भए । प्रदेश सभाको दौडमा रहेका कैलालीको गोदावरी नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिसिंह साउद नेकपा एमालेबाट प्रदेश सभा उम्मेदवार रहेका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा २ बाट उम्मेदवार रहेका साउँद नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर बमसंग पराजित बने । साउँदले ११ हजार नौ सय ५७ मत प्राप्त गरेका थिए भने बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भए ।

साउद, रावल, बोहरा र थापाजस्तै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पूर्व नगर प्रमुख, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यमा पराजय वेहोर्नु परेको छ ।  एमालेबाटै ०७४ को स्थानीय तह निर्वाचनमा गौरिगंगा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका भीम देउवाले पनि पराजय व्यहोर्नु परेको छ । नगर प्रमुखबाट प्रदेश सभा सदस्यको दौडमा रहेका देउवाले सत्ता गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादी पार्टीतर्फबाट उम्मेदवार रहेका दीर्घबहादुर सोडारीसंग पराजय हुनुपरेको हो ।

देउवाले नौ हजार चार सय ४५ मत प्राप्त गरे भने सोडारी १३ हजार पाँच सय ११ मतले प्रदेश सभा सदस्यमा विजयी भए । नेकपा एमालेबाटै प्रदेश सभामा उम्मेदवार रहेका भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट पनि सत्तागठबन्धन दलका उम्मेदवारसंग पराजय व्यहोर्नु परेको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेश सभा २ मा नेपाली काँग्रेसका उम्मेदवार बेलबहादुर राना मगरसंग विष्टले पराजय हुनुपरेको हो । मगरले १६ हजार एक सय ६२ मत प्राप्त गरेर प्रदेश सभामा निर्वाचित भए भने विष्टले १० हजार पाँच सय ५५ मतमा सिमित हुनुपरेको हो । 

नेपाली काँग्रेसबाट २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित बीरबहादुर विष्टले पनि प्रदेश सभामा पराजय व्यहोर्नुपरेको छ । नेकपा एमाले र स्वतन्त्र उम्मेदवारसंग बीरबहादुर प्रतिष्पर्धामा थिए । बैतडी प्रदेश सभा सदस्य २ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र्र बहादुर पाल १२ हजार आठ सय ३१ मत प्राप्त गर्दै प्रदेश सभामा निर्वाचित भए भने स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारीले ११ हजार १८ मतमा सिमित हुनुपर्यो । गाउँपालिका अध्यक्ष विष्टले १० हजार नौ सय ५३ मत प्राप्त गर्दै तेस्रो हुनुपरेको छ ।विष्ट सुर्नयाँ गाउँपालिकाका अध्यक्षमा २०७४ सालमा निर्वाचित भएका थिए ।

प्रदेश सभामा मात्र नभई प्रतिनिधि सभाको दौडमा रहेका निवर्तमान नगर प्रमुख तथा प्रदेश सभा सदस्यहरु पनि पराजय हुनुपरेको छ । २०७४ सालमा प्रदेश सभामा निर्वाचित झपटबहादुर बोहराले प्रतिनिधि सभामा पराजय व्यहोर्नुपरेको छ । प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री समेत भएका बोहरा सत्ता गठबन्धनतर्फबाट एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार रहेका शेरबहादुर कुँवरसंग पराजय हुनुपरेको हो । कुँवर १९ हजार पाँच सय ३४ मत प्राप्त गर्दै प्रतिनिधि सभामा निर्वाचित भए भने बोहरा १५ हजार ४५ मत प्राप्त गर्दै जनमत पाउन असफल भए ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेका टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्रबहादुर रावलले प्रतिनिधि सभा सदस्य बन्न पाएनन्  । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ र नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीसंग पराजय हुनुपरेको हो । श्रेष्ठले ३० हजार चार सय ४ मत प्राप्त गरे भने चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका थिए । रावलले पाँच हजार नौ सय १० मत प्राप्त गर्दै तेस्रो हुनुपरेको छ ।

नेपाली काँग्रेसबाट नगर प्रमुख बनेका बैतडीका केशवबहादुर चन्द प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार थिए । उनी दुई हजार पाँच सय ९ मत प्राप्त गर्दै तेस्रो बनेका छन् । नेकपा एमालेबाट उम्मेदवार रहेका दामोदर भण्डारी ३३ हजार छ सय ११ मत प्राप्त गर्दै प्रतिनिधिमा निर्वाचित भए भने उनका प्रतिष्पर्धि नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मतमा सिमित भए । प्रदेशबाट उक्लिदै प्रतिनिधिमा निर्वाचित
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट २०७४ सालको निर्वाचनमा प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यहरु प्रतिनिधिमा निर्वाचित हुन सफल भएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेका नेपाली काँग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई पराजय गर्दै प्रतिनिधिमा निर्वाचित भए । रानाले २० हजार तीन सय १८ मत प्राप्त गरे भने पन्तले २१ हजार तीन सय १२ मत प्राप्त गर्दै प्रतिनिधि सभामा निर्वाचित भए ।  यस्तै २०७४ मा प्रदेश सभामा निर्वाचित भएका आर्थिक मामिलामन्त्री बनेका तारा लामा तामाङ पनि प्रतिनिधि सभामा निर्वाचित भएका छन् । एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका तामाङले सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई पराजय गर्दै प्रतिनिधि सभा सदस्य बन्न सफल भए ।  तामाङले २४ हजार नौ सय ४३ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य बन्न सफल भए भने मगरले १९ हजार चार सय मत प्राप्त गर्दै जनमतबाट अस्विकृत भए ।