सुरक्षित रुपमा सुत्केरी गराउने बढ्दै
2022/12/17, 4:49
 
ss

बैतडीमा स्वास्थ्य चौकी र प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको सङ्ख्या बढेको छ । पछिल्लो तीन आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या ६४ प्रतिशतबाट बढेर ८१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ६४।२ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा संस्थागत सुत्केरी हुनेको सङ्ख्या ८१.९ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

स्वास्थ्य कार्यालय र स्थानीय तहले घरमा हुने सुत्केरी शून्य पालिका घोषणा अभियान सञ्चालन गरेका कारण संस्थागत सुत्केरीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले संस्थागत सुत्केरीको सङ्ख्या बढ्दै गएपछि मातृशिशु मृत्यु दर पनि घट्दै गएको बताए । 
स्वास्थ्य कार्यालय बैतडीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउनेको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ। आर्थिक वर्ष २०७५/७६ मा गर्भ जाँच गराउनेको सङ्ख्या ६२.४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा सो सङ्ख्या बढेर ७९ प्रतिशत पुगेको छ ।
त्यस्तैगरी, गर्भ रहेको १८० दिन आइरन चक्की सेवन गर्ने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ । दुई वर्षअघि नियमित आइरन चक्की सेवन गर्ने महिलाको सङ्ख्या ६१।९ प्रतिशत रहेकोमा यो वर्ष उक्त सङ्ख्या बढेर ७८.२ प्रतिशत पुगेको छ । आइरन चक्कीको सेवनले गर्भवती महिलालाई रक्तअल्पता हुनबाट बचाउने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।