कोरोना जोखिम: सीमा नाकामै खोप लगाउने तयारी
2022/12/29, 11:28
 
dd

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाटै कोरोना विरुद्धको खोप दिने तयारी भएको छ । भारतबाट स्वदेश फर्कने नागरिकले खोप नलगाएको भएमा सीमा नाकामै खोप लगाउने व्यवस्था गर्ने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘सीमाबाट स्वदेश फर्कने नागरिकको सीमामै कोरोना परीक्षण गर्नुका साथै उनीहरुले खोप पाए/नपाएको बारे एकीन गर्ने र खोप नपाएको भए सीमामै खोप दिने व्यवस्था गर्ने तयारी गरेका छौं ।’

सीमा नाका झुलाघाटमा पहिलादेखि हेल्थ डेस्क सञ्चालनमा रहेको र सोही डेस्कमार्फत खोप दिइने स्वास्थ्य प्रमुख भट्टले बताए । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेकाले त्यसको जोखिम कम गर्न सीमा नाकामा कडाई गरिएको उनले बताए । सीमा नाकामा रहेको हेल्थडेस्कमा नियमित कोरोना परीक्षण भइरहेको हेल्थडेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट सुरज धामीले बताए । भारतबाट स्वदेश फर्कने नागरिकको कोरोना परीक्षण गरेर मात्रै पठाउने गरेको उनले बताए । भारतमा कोरोनाको जोेखिम बढ्दै गएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।

छिमेकी देशहरुमा कोरोनाको जोखिम बढ्दै गएपछि भारतको सीमासंग जोडिएको बैतडीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सीमा क्षेत्रमा कोरोनाका उच्च जोखिम भएकाले सतर्कता अपनाउनका लागि स्थानीय प्रशासनले केही दिन पहिला विज्ञप्ती निकालेर आग्रह समेत गरिएको थियो । यस्तै कोरोनाको जोखिम कम गर्न भीडभाड भएका ठाउँमा नजान र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने स्वास्थ्य प्रमुख भट्टले बताए । सार्वजनिक ठाउँमा जानुपरे मास्क, सेनेटाइजर र भौतिक दुरी व्यवस्थापन गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । बैतडीमा अहिले सम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।